
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड एसएसएलको आर्थिक अवस्था कमजोर देखिएको छ । केयर रेटिङ नेपालका अनुसार उद्योगको आम्दानी घट्दै गएको र ऋण भार निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार उद्योगको आम्दानीमा कमी आएको छ भने ऋण तिर्ने क्षमता कमजोर बन्दै गएको छ।
शुभश्री अग्नि सिमेन्ट उद्योगले सन् २०१३ मार्च ४ मा निजी कम्पनीका रूपमा स्थापना भई २०२२ जुलाई १५ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । उद्योगले ७०० मेट्रिक टन प्रतिदिन एमटीपीडी क्षमताको क्लिङ्कर उत्पादन गर्ने प्लान्ट २०१७ डिसेम्बरमा सञ्चालनमा ल्याएको थियो भने १२०० एमटीपीडी क्षमताको ग्राइन्डिङ युनिट २०१९ जुलाईदेखि सञ्चालनमा आएको हो ।
सन् २०२२ मा कम्पनीको आम्दानी २ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेकोमा सन् २०२३ मा २ अर्ब ५५ करोड १० लाख रुपैयाँ पुगेको थियो । तर, सन् २०२४ मा आम्दानी घट्दै १ खर्ब ५९ करोड ४० लाख रुपैयाँमा झरेको छ । वर्षदिनमा ९५ करोड ७० लाख रुपैयाँ नाफा घटेको छ । आम्दानी घट्दा पनि सञ्चालन मुनाफा मार्जिन सन् २०२३ को २२।४२ प्रतिशतबाट बढेर ३१।७१ प्रतिशत पुगेको छ ।
यता, कम्पनीको ऋणभार झनै बढेको देखिन्छ । कुल ऋण/ग्रस क्यास एक्रुयल अनुपात सन् २०२२ मा २२।१५ गुणा रहेकोमा सन् २०२३ मा १८४।३९ गुणा र सन् २०२४ मा २७२।८० गुणासम्म पुगेको छ, जसले उद्योगको वित्तीय व्यवस्थापन गम्भीर संकटमा रहेको संकेत गरेको छ ।
उद्योगको समग्र ऋण–इक्विटी अनुपात पनि उकालो लागेको छ । सन् २०२२ मा ३।३७ गुणा रहेको अनुपात सन् २०२३ मा ३।८९ गुणा र सन् २०२४ मा ३।७४ गुणामा झरेको छ । तर, अझै पनि उद्योगको ऋणभार उच्च नै छ ।
ब्याज तिर्ने क्षमतामा पनि समस्या देखिएको छ । सन् २०२२ मा १।६९ गुणा रहेको उद्योगको ब्याज सेवा कभरेज अनुपात सन् २०२३ मा घटेर १।०५ गुणा पुगेको थियो भने सन् २०२४ मा झन् ओरालो लागेर १।०४ गुणामा झरेको छ । चालु अनुपात पनि लगातार उतार–चढावमा छ । सन् २०२२ मा १।३६ गुणा रहेको अनुपात सन् २०२३ मा १।२३ गुणासम्म झरेको थियो भने सन् २०२४ मा सुधार हुँदै १।८१ गुणामा पुगेको छ ।
वित्तीय संकटको संकेत देखाइरहेको शुभश्री अग्नि सिमेन्ट उद्योगलाई उच्च ऋण भार कम गर्नुपर्ने चुनौती रहेको छ । आम्दानी घट्दै गएमा र ब्याज तिर्ने क्षमता अझ कमजोर भएमा कम्पनीलाई थप आर्थिक कठिनाइ झेल्नुपर्ने अवस्था आउन सक्ने छ ।
कम्पनीले ४ अर्ब ५५ करोड बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम १ अर्ब ८९ करोड ९६ लाख रुपैयाँका लागि ‘केयर एनपी बी प्लस’ र सर्ट ट्रम बैंक कर्जाका लागि २ अर्ब ६६ करोड कर्जाका लागि ‘केयर एनपी ए प्लस रेटिङ पुनः पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: