नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

२०८१ चैत्र १७

काठमाडौं चैत १७, पोखरा, नेपाल—नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधन भएको उल्लेख गरे ।
उनले नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन पर्ने बताउँदै खेलकुदले श्रमशक्तिलाई जोड्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्ने कुरामा पनि सहयोग पु¥याउने बताए ।
उनले खेलकुद सामाजिक सद्भाव, पर्यटन र संस्कृतिको विकासका लागि अपरिहार्य रहेको औँल्याउँदै खेलकुद व्यवस्थापनमा राजनीति आवश्यक भएको बताए ।
खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि राजनीतिक इच्छाशक्ति अनिवार्य छ । खेलकुदको विकास र खेलाडीहरूको हितमा राजनीति सहायक हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरू सम्मानित गरेका थिए । साथै, नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रमको स्मारिका विमोचन पनि गरिएको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौँ खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहेको बताए ।
अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना प्रस्तुत गर्दै योजनावद्ध रूपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल हाप्किडो संघका उप–महासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: