नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको गम्भीर ध्यानार्कषण

२०८१ चैत्र १३

काठमाडौ चैत्र १३, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभाविक गतिविधि प्रति गम्भीर ध्यानार्कषण भएको छ ।
नेपाल स्काउटमा सुधारको माग राख्दै शुरु भएको आन्दोलन जारी छ । आन्दोलनरत पक्षले स्काउटको केन्द्रीय कार्यालयमा तालावन्दी गर्ने प्रयास गरेपछि प्रशासनले रोक लगाएको थियो ।
आन्दोलनकारीहरूले निष्पक्ष छानविन र संस्थाको सुधारका लागि आफ्ना मागहरू राखेका छन्।आन्दोलनकारीहरूले भने मागहरू पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरू वार्ताका लागि सकारात्मक देखिए पनि समाधान नभएसम्म संघर्ष जारी राख्ने अडानमा छन् । यसै सन्दर्भलाई मध्यनजर गर्दै नेपाल स्काउट प्रधान कार्यालय परिसरले आन्दोलनको नाममा भइरहेका यस्ता गतिविधिले दैनिक कार्यसञ्चालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको बताएको छ ।
साथै राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुमा उच्च मनोवलका साथ काम गर्ने वातावरण नरहेको तथ्यप्रति आन्दोलनरत पक्ष समेत जानकार रहेको बताएको छ ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारिक जानकारी र मागका विषय पेश नगरीकन दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर रहँदै नेपाल स्काउटको आधिकारिक पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक–पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहीरहनु चिन्ताको विषय हो, तसर्थ अनौपचारीक तवरबाट भएका संवादलाई औपचारिक रुप दिनका लागि नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको मिति २०८१ चैत्र ६ गते बसेको बैठकले आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति बनाउने निर्णय भएबमोजिम उक्त समितिले आन्दोलनरत पक्षसँग संवादका लागि पहल गरिरहेको छ । औपचारिक रुपमा आफ्ना कार्यक्रम र विषय प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने तर्फ सबै जाना सचेत र सजग रहनुपर्छ ।

स्काउट प्रमुख एवम् माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी स्वयम् पनि गम्भिर रहेको तथ्य भुल्न नमिल्ने बताए ।
अनौपचारिक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका विषयलाई सरसर्ती हेर्दा संस्थागत विषय भन्दा पनि कुनै एक व्यक्तिप्रतिको पुर्वाग्रह मात्र हो भन्दा फरक पर्दैन, यद्यपी धेरै विषय विभिन्न आधिकारिक निकायमार्फत् सम्बोधन भइसकेको र बाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ ।
यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा मिति २०८१ माघ ९ (मुद्दा नं. ०८१– ध्इ–०८२०) र मिति २०८१ फागुन (मुद्दा नं. ०८१–डब्लु ओ ०९५७) मा पूर्व प्रमुख आयुक्त महेन्द्र राज रंजितले दायर गरेको रिटमा उठाइएको विषय र हाल आन्दोलनरत पक्षले उठाएका अधिकांश माग एउटै देखिन्छन् । ति दुबै रिटको अन्तिम किनारा लाग्ने प्रक्रियामानै रहेको र सम्मानित अदालतमा विचाराधिन विषयमा अन्यत्र प्रश्न उठाउन नपाईने तथ्यलाई सबैले स्वीकार गर्नुको विकल्प छैन ।
त्यसैगरी यसै विषयमा नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी पेश भएको र सचिवालय मार्फत युवा तथा खेलकुद मन्त्रालयलाई समेत प्राप्त भएको जानकारी समेत गराउन चाहान्छु । नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्रबाट मिति २०८१ फागुन २८ गते युवा तथा खेलकुद मन्त्रालयलाई रायका लागि प्राप्त पत्रमा समेत आन्दोलनमा उठाइएका माग बमोजिमनै बेनामी उजुरी परी सो उपर छानविन भइरहेको तथ्यप्रति सरोकारवालाले जानकारी राख्नु आवश्यक छ ।
सम्मानित सर्वोच्च अदालत, नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र, नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीको सचिवालय, युवा तथा खेलकुद मन्त्रालय, प्रमुख स्काउट जस्ता संवैधानिक र उच्च आधिकारिक तहबाटै आन्दोलनरत पक्षले लिखित रुपमा पेश र दर्ता गरिएका विषयका बारेमा कानुनी र प्रशासनिक परीक्षण र कारवाही भइरहेका छन् ।
नेपाल स्काउटको विगतको इतिहास जति गौरवान्वित छ, वर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउन आम स्काउटहरुबीच सहकार्य र एकता आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: