एमाले र माओवादी बिच ‘गणतान्त्रिक मोर्चा’को तयारी के सम्भव होला ?

२०८१ चैत्र ११

काठमाडौं चैत्र ११, राजसंस्था तथा हिन्दूराष्ट्र पुनस्र्थापनाको मागसहितका गतिविधि र पूर्वराजाले पछिल्ला दिनमा देखाएको सक्रियतापछि सत्ताधारी र विपक्षी दलहरूले गणतान्त्रिक मोर्चा बनाउने पहल गरेको विवरणहरू आइरहेका छन् ।
यद्यपि सत्ताधारी दुबै ठूला दलका नेताहरूले अहिले नै त्यस्तो पहल नभएको “तर आवश्यक पर्दा सबै गणतन्त्रवादीहरू एक स्थानमा आउने’’ बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका एक नेताले चाहिँ “बृहत् मोर्चा बनाउने प्रसङ्ग चलेको तर ठोस कुराकानी हुन बाँकी रहेको“बताएको छ ।
कतिपयले देशमा अहिले “चरम निराशा देखापरेको’’ छ । त्यस्तो अवस्थामा “दलहरू परम्परागत र गणतान्त्रिक व्यवस्थाको पक्षमा’’ ध्रुविकृत हुने अवस्था बन्दै गइरहेको विश्लेषण गरिरहेका छन् ।
संसद्को सबैभन्दा ठूलो तथा सत्ताधारी दल नेपाली काँग्रेसको एउटा शुभेच्छुक संस्थाले सातवटै प्रदेशमा अन्तरक्रिया गरी तयार पारेको प्रतिवेदनमा “नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने“ सुझाव आएको उल्लेख छ । नेपाली काँग्रेसले भने गणतन्त्र र धर्म निरपेक्षता सहितको संविधानप्रति आइतवार पुनः आफ्नो प्रतिवद्धता दोहो¥याएको छ । यस्तो पृष्ठभूमिमा उठेको गणतान्त्रिक मोर्चाको चर्चालाई कैयौँले अर्थपूर्ण रूपमा हेरेका छन् ।

गणतान्त्रिक मोर्चाको चर्चा किन ?
गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई “साथ दिन’’ देशवासीलाई आह्वान गरेसँगै सत्ताधारी र विपक्षी गणतन्त्र पक्षधर नेताहरूले उनको आलोचना शुरु गरेका थिए ।
ज्ञानेन्द्र शाहको उक्त सन्देशको प्रसङ्गबारे चर्चा भइरहेका बेला गत फागुन २५ गते उनी पोखराबाट काठमाडौं फर्कँदा उनको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भिड जम्मा भयो ।
राजसंस्था पक्षधरहरूले शाहलाई स्वागत गर्दै उनलाई निर्मल निवाससम्म पु¥याएका थिए ।
उक्त घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित गणतन्त्रवादी नेताहरूले “कडा शब्द’’मा शाह र राजसंस्था पक्षधरहरूलाई चेतावनी दिइरहेका छन् ।
उनीहरूको त्यस्तो चेतावनीमाझ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य राजावादी समूहहरूले पञ्चायतकालीन राजनीतिज्ञ नवराज सुवेदीको नेतृत्वमा ‘जनआन्दोलन’ अघि बढाउने घोषणा गरेका छन् ।
अर्कोतर्फ माओवादीसहितका शक्तिको समाजवादी मोर्चाले पनि गणतन्त्रका पक्षमा सभा गर्ने घोषणा गरेको छ ।
राजसंस्थावादी तथा गणतन्त्रवादी दुबैले यसै साता राजधानीमा एकैदिन कार्यक्रम पनि राखेका छन् ।
यो पृष्ठभूमिमा गणतन्त्रवादी शक्ति एक हुनुपर्ने भन्दै विशेषगरी नेपालका कम्युनिस्ट पार्टीहरूले “गणतान्त्रिक मोर्चा’’को छलफल अघि बढाएको नेताहरूले बताएका छन् ।
उनीहरूले “विकसित परिस्थितिमा प्रतिगामी तत्व सलबलाएको’’ आरोप लगाउँदै त्यस्तो मोर्चाको आवश्यकता भएको बताइरहेका छन् ।
‘प्रसङ्ग चलेको, ठोस निर्णय नभएको’
राजावादीको प्रदर्शनका बेला नारायणहिटी संग्र्राहलय अगाडि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
पछिल्ला दिनमा आएका कतिपय खबरमा त्यस्तो मोर्चाबारे माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको जनाइएका छन् ।
त्यस्तै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतान्त्रिक मोर्चाका लागि छलफल गर्न आफ्ना मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्निप्रसाद खरेललाई खटाएको विवरणहरू पनि सार्वजनिक भएका छन् ।
नेपाली काँग्रेसमा चाहिँ देउवा त्यस्तो मोर्चाका लागि तयार भएको तर अर्को पक्षका नेताहरू तयार नहुँदा उक्त प्रक्रिया अघि नबढेको भन्ने खबरहरू पनि विभिन्न सञ्चारमाध्यममा आएका छन् ।
गणतान्त्रिक मोर्चाको प्रसङ्गमा देउवासँग प्रचण्डको कुराकानी भएकोबारे माओवादीका एकजना नेता देवेन्द्र पौडेललाई सोधेको थियो ।
उनले भने, “औपचारिक कुराकानी भएको छैन तर टेलिफोनमा कुराकानी भएर प्रतिगामी शक्तिहरू एक भए भने त त्यसलाई रोक्न हामी (गणतन्त्रवादी) पनि एक हुनुपर्छ भन्ने कुरा भएको हो । त्यसमा आंशिक सत्यता छ ।’’

प्रतिक्रिया दिनुहोस्: