गणतन्त्रवादी र राजावादी आमनेसामने, के छ सत्ताधारीको तयारी ?

२०८१ चैत्र ६

काठमाडौं चैत्र ६, वर्तमान व्यवस्थामाथि धावा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएपछि सत्ताधारी दल र विपक्षी दल एक ठाउँमा उभिने तयारीमा छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेका थिए । फागुन २५ गते पोखराबाट काठमाडौँ आएका उनलाई राजावादीहरूले भव्य स्वागतसहित निर्मल निवाससम्म पु¥याएका थिए ।
त्यसअघि सत्ता राजनीतिमा केन्द्रित हुँदै पक्ष र विपक्षमा विभाजित प्रमुख राजनीतिक दलहरू यतिबेला भने प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकजुट देखिएका छन् ।
विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा बृहत् प्रदर्शनको तयारी गरेको छ । मोर्चाले वर्तमान सरकारविरुद्ध चैत २४ गते विरोध प्रदर्शन गर्ने पूर्वतयारीलाई परिमार्जन गर्दै चैत १५ गते प्रतिगमनविरुद्ध हजारौँ मानिस राजधानीमा उतार्ने निधो गरेको हो ।
मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले विरोध सभामा बागमती प्रदेशका १३ जिल्लाबाट पार्टी संगठन, जवस÷मोर्चा, शुभेच्छुक संघसंस्था, शुभचिन्तकलाई उतार्ने तयारी गरेका हुन् ।

‘विरोध प्रदर्शन सशक्त बनाउन हामीले घनिभूत तयारी गरेका छौँ । त्यसका लागि जवस÷मोर्चा र पार्टीको सबै समिति परिचालन गर्ने निर्णय भएको छ,’ माओवादीका प्रवक्ता अग्नि सापकोटाले भने ।
देशी विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा जनताले मिल्काइसकेको राजसंस्था फेरि सलबलाउने कोसिसमा रहेकाले सडकबाट सशक्त प्रतिरोध गर्ने उनको भनाइ छ ।
माओवादी अध्यक्ष प्रचण्डले हजारौँ जनताको बलिदानबाट प्राप्त भएको व्यवस्थाको रक्षाका लागि गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई एक हुन अपिल गरेका छन् । मंगलबार राजधानीमा प्रतिरोध दिवसको अवसरमा बोल्दै प्रचण्डले लोकतन्त्र, संविधान र व्यवस्था बचाउनका लागि गणतन्त्र पक्षधर शक्तिहरूले गम्भीर आत्मसमीक्षा गरी एक ठाउँमा आउनुको विकल्प नभएको बताएका थिए ।
पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत पूर्वनिर्धारित बारा, पर्सा र चितवनसम्मको स्थगित जागरण अभियान सम्पन्न गरेर चैत १० गते माओवादीका शीर्ष नेताहरू काठमाडौँ फर्किंदै छन् । राजावादीहरूको सक्रियता बढेपछि अभियान स्थगित गरी प्रचण्डसहितका नेताहरू फागुन २५ गते काठमाडौँ आएका थिए ।
गणतन्त्र पक्षधरबिच राष्ट्रिय सहमति गरेर जाने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच विभिन्न च्यानलमार्फत छलफल भइरहेको एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले रातोपाटीलाई बताए । सोमबार बसेको एमालेको सचिवालय बैठकमा पनि यसबारे समीक्षा भएको उनको जिकिर छ ।
‘सत्तापक्ष र विपक्षी गणतन्त्र पक्षधरबिच सहकार्य गरेर जानेबारे छलफल भएको छ । प्रतिगामी शक्तिविरुद्ध प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरूले आ–आफ्नै ढंगले प्रतिवाद गरिरहेका छन्’, ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले पहिलो चरणमा तीन प्रमुख दलको बैठक बोलाउनु हुन्छ । त्यसपछि गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाउनुहुन्छ । प्रतिगामी राजावादीहरू सातो लिनेगरी अगाडि बढ्छौँ ।’
पूर्वराजा ज्ञानेन्द्र सडकमै उत्रिएर उपद्रो गर्न थालेपछि शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न सरकारसमेत चुप लागेर नबस्ने ज्ञवालीले प्रस्ट पारे । संसदमा पनि सत्तापक्ष र प्रतिपक्ष नभनी सशक्त रूपमा प्रतिवाद हुने उनले बताए ।

यद्यपि सत्ता सहकार्यको विषयमा दलहरूबिच कुनै छलफल नभएको ज्ञवालीले स्पष्ट पारे । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने, सरकारले आफ्नै कार्यशैली र व्यवहार सुधार गर्ने तथा व्यवस्था रक्षाको विषयमा दुवैपक्ष एक ठाउँमा आउनेगरी वातावरण तयार भइरहेको उनले दाबी गरे ।
सत्तापक्ष र प्रतिपक्षबिच सहमतिको वातावरण बनाउन चार दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकार अग्नि खरेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।
प्रचण्डको सचिवालयले पनि राष्ट्रिय सङ्कट समाधानका लागि सत्ताधारी दलहरूबिच छलफल भइरहेको स्वीकारेका छन् । तर ओली नेतृत्वको सरकारमा सहभागिताबारे कुनै छलफल नभएको उनका स्वकीय सचिव गोविन्द आचार्यले स्पष्ट पारिसकेका छन् ।
सत्ताघटकको मुख्य दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले व्यवस्थामाथि सङ्कट आएमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । ‘संविधान र कानुन बमोजिम काम गर्ने सरकार हो । उसले चनाखोपूर्वक सबै परिस्थितिलाई मध्यनजर गरेर जान्छ । यदि लोकतन्त्र र व्यवस्थालाई बचाउनका लागि आवश्यक परे कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्छ । यसका लागि हामी गणतन्त्र पक्षधर दलहरूसँग सहकार्य गरेर अगाडि बढ्छौँ’, उनले भने ।
परियारले पनि सरकार परिवर्तन वा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएको जिकिर गरे । असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई विस्तापित गरी कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि माओवादी लगायत विपक्षी दलहरू सरकारविरुद्ध सदन र सडकमा आक्रामक देखिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २६ गते संसदमा सम्बोधन गर्ने क्रममा सरकार र प्रतिगामी शक्तिविरुद्ध एकसाथ संघर्ष गर्नुपर्ने विशिष्ट परिस्थिति उत्पन्न भएको बताएका थिए । तर राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएसँगै सत्ताधारी र विपक्षी राजनीतिक शक्ति नजिकिँदै गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: