ढकालद्वारा सयुक्तराष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ सँग भेट

२०८१ माघ ८

न्यूयोर्क माघ ८, मित्र राष्ट्र सयुंक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुंक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेटवार्ता गरेका छन् । न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुंक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना सन्देश दिएको छ । महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र सम्मृद्धिको यात्रामा सयुंक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्रेट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए । पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डुलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएतसँग संसद भवनमा द्विपक्षीय हित र नेपाल अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा–छुट्टै कुराकानी गरेका थिए ।
सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स“ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसँग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनी नेपाल अमेरिकी संसदीय मैत्री समूहमा आवद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले विशेष महत्व दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: