
काठमाडौं माघ १०, एसियाली देशहरूको बीमा क्षेत्रको नियामक निकायहरूको संस्था एसिउन फोरम अफ इन्सुरेन्स रेगुलेटर्सको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन आयोजना गरिएको हो ।
बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ र ८ गते तथा एएफआईआर वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते सम्पन्न भएको थियो ।
बैठक तथा सम्मेलनको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले एशिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।
अध्यक्ष दाहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्वोधन गर्नका लागि एशिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमको सभापतित्व ए एफआईआरका अध्यक्ष तथा अष्ट्रेलियन प्रुडेन्सीयल अनुगमन प्राधिकरणका महाप्रबन्धक पिटर कोहिहागेन तथा फाइनान्सियल स्टेविलीटी इन्स्टीच्यूट, अन्तराष्ट्रिय बैंकिङ्ग पुनस्र्थापनका अध्यक्ष फर्नाण्डो रेस्टोईले गर्नुभएको थियो ।
दोस्रो दिनको कार्यक्रममा जापानको अन्तराष्ट्रिय वित्तिय एजेन्सी सेवाका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृँङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौंती र अवसर लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न जोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतिको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो ।
एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्वोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका वर्गहरूमा बीमाको पहुँच विस्तारका साथै प्यारामेटिक इन्सुरेन्स र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो ।
यसैगरी, विश्वभर तीव्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलित रूपमा सम्वोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायू परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्वोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंक एडीबीले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएका थिए ।
कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, प्रोटेक्सन ग्याप घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिम रक्षावरण लगायतका विषयमा प्रस्तुती गर्नुभएको थियो ।
बैठक तथा सम्मेलन समापन गर्नुहुँदै एएफआईआरका अध्यक्ष तथा अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेशन अथोरिटीका महाप्रवन्धक पिटर कोहिहागेनले नेपालमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल बीमा प्राधिकरणले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएका थिए ।
उहाँले आगामी दिनमा एसिया–प्रशान्त क्षेत्रका सबै बीमा नियामक निकायहरू आईएआईएसले सन् २०२५ देखि २०२९ सम्मका लागि ल्याएको मार्गचित्र अनुसार अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठक तथा सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्: