नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

२०८१ पुष २७

काठमाडौं पुस २५, नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।
एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साता अघि अत्याधिक दुखाई भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो ।
त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्णरुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा. वेश अन्सारीले बताउनु भयो । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ ।’ कन्सल्टेन्ट यूरोसर्जन डा. अन्सारीले भन्नुभयो ।
मिर्गौला पूर्णरुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा. अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेश्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएर जानु भएको थियो । अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको सास फेरेका छन् । ‘पत्थरीकै कारण मिर्गौला नै बिग्रिएछ । डाक्टर सावले तत्कालै अप्रेसन गर्न सल्लाह दिनुभयो । दुरबिनबाट अप्रेसन गर्ने भनेर सबै बुझाउनु भयो । उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्सहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ बिरामी नवराजकी श्रीमती गीता त्रिपाठी दाहालले बताउनु भयो ।
ल्याप्रोस्कोपी विधिबाट विभिन्न प्रकारका अप्रेसनहरू भइरहेपनि मिर्गौला नै निकालिएको कलेजको इतिहासमा सम्भवतः पहिलोपटक हो । कलेजले पछिल्लो समय विभिन्न प्रकारका अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकताका साथ अवलम्बन गर्दा धेरै बिरामीहरूले राहत पाएका छन् । सर्जरीका हरेक विभागहरुले ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसनहरू गरिरहेका छन् ।
ल्याप्रोस्कोपी प्रविधिको अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी हुने गर्दछ । यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसन पछि बिरामी छिट्टै रिकभर हुन्छन् । ‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी छ । शरीरमा स–साना प्वालहरू पारेर अप्रेसन गरिन्छ । ठुल्ठूलो घाउ पार्नु पर्दैन, रक्तश्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन । लामो समय पेनकिलर सेवन गर्नु पर्दैन ।’ डा. अन्सारीको दावी छ ।
डा. अन्सारीका अनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ । त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्रासयको समस्या, पाठेघरको अप्रेसन लगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ ।
‘व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन’ काउन्सिल अध्यक्ष शाही
काठमाडौं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताउनु भएको छ । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले हरेक क्षेत्रमा मेहनत र संघर्ष गर्ने युवाहरुले सफलता प्राप्त गर्ने बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट सिभिल तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ उत्तिर्ण १९ औं ब्याचका विद्यार्थीहरुलाई विदाई गर्दै प्रा.डा. शाहीले प्राविधिक जनशक्ति खासगरी इन्जिनियरहरुले स्वदेशमै राम्रा अवसरहरु पाउने जिकीर गर्नुभयो । ‘विगतमा भन्दा अहिले इन्जिनियरिङ क्षेत्रमा स्कोप छ । तर, तपाईहरुले कलेजमा अध्ययन गरेको भन्दा बढ्ता मेहनत व्यवसायिक जीवनमा गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन गर्दैगर्दा असाइनमेन्ट सब्मीट गर्नु भयो, रिपोर्ट बनाउनु भयो भाइबा गर्नुभयो । हामीले पनि त्यही गरेर आएका हौं । तर, तपाईको अबको जीवन भनेको नम्बरमा मुल्यांकन हुँदैन अब तपाईको जीवन एस र नोट हो । कि तपाई पास हुनुहुन्छ कि फेल हुनुहुन्छ ।’ सफल हुनको लागि व्यवसायिक जीवनमा प्रत्येक पल परीक्षा दिइरहनु पर्ने भन्दै प्रा.डा. शाहीले भन्नुभयो ।
आफ्लाई सफल बनाउन समाज र समय अनुसार व्यवसायिक रुपमा ज्ञान अनुसार सीप हुनुपर्ने भन्दै प्रा.डा. शाहीले विश्वविद्यालयको अध्ययनले ज्ञान दिन सकेपनि सीप नदिएको बताउनु भयो । ‘विश्वको कुनैपनि विश्वविद्यालयले ज्ञान दिन्छ सीप दिँदैन, सीप सिक्नका लागि हरेक दिन आफ्नो फिल्डमा पढ्नु पर्छ । नयाँ कुरा जान्नैपर्छ ।’ व्यवसायिक जीवनमा इमान्दारिता, नैतिकता र लगनशीलता अपरिहार्य भएको भन्दै उहाँले देश र समाज बनाउन दक्ष युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाल सरकारका पूर्वसचिब तथा नेकका पुर्वप्राध्यापक मनिराम गेलालले नेपालको विकासमा इन्जिनियरहरुको भुमिका रहेको भएपनि सरकारी सेवामा पर्याप्त इन्जिनियरहरु नरहेको बताउनु भयो । नयाँ जनशक्तिलाई अनुभवको अभाव भन्दै अवसर नदिँदा उनीहरु अवसरको खोजीमा बाहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले नयाँलाई पनि अवसर दिइनुपर्ने बताउनु भयो । ‘हाम्रो पोलिसीमा कमजोरी छ । कन्सल्टिङ सर्भिसेसका लागि जनशक्ति माग गर्दा पनि १५, २० वर्ष सम्बन्धीत विषयमा काम गरेको अनुभव चाहिने मापदण्ड राख्छौं । नयाँ गोल्डमेडलिस्ट र टपरहरु भने बजारमा काम खोज्दै बस्नुपरेको अवस्था छ । यसलाई चेञ्ज गर्न आवश्यक छ ।’ सुखी नेपाली समुन्नत नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति नै चाहिने भएकाले नयाँलाई अवसर दिइनुपर्ने उहाँको जोड छ ।
गेलालले कामको मुल्यांकन गर्नेहरुको संख्या बढि र काम गर्नेहरुको संख्या कम हुँदा देशलाई घाटा भइरहेको बताउनु भयो । पूर्वाधार निर्माणका क्षेत्रमा बढी आरोपहरु लाग्ने भएकाले पेशागत मर्यादा र इमान्दारिता कायम गर्दै करियर डेभलपमेन्टमा अगाडी बढ्न नव इन्जिनियरहरुलाई शुभकामना दिनुभयो । साथै, नेपालमै केही गर्ने वातावरण बन्दै गइरहेकोले आशावादी भएर मेहनत गर्न सुझाब दिनुभयो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुले व्यवसायिक क्षेत्रमा प्राप्त गर्ने सफलता नै कलेजको सफलता भएको बताउँदै व्यवसायिक क्षेत्रमा मर्यादा र अनुशासन कायम गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो । ‘तपाईहरु कलेजको ब्राण्ड एम्बेष्डर हो । तपाईहरुले प्राप्त गर्ने सफलता नै हाम्रो सफलता हो । जुनसुकै पदमा रहेर काम गर्दा म नेपाल कलेजको विद्यार्थी हुँ भन्ने नविर्सनु होला ।’ समाज र राष्ट्रसँग जोडिएर काम गर्नुपर्ने भएकाले व्यवसायिक जीवनमा पेशागत इमान्दारिता, नैतिकता र मर्यादा महत्वपूर्ण रहेको भन्दै प्राचार्य भण्डारीले भन्नुभयो ।
कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक सावित्री त्रिपाठीले ४ वर्षको अध्ययन समाप्त गरेर ब्यवसायिक जीवनमा प्रवेश गर्दा नैतिकवान भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । व्यवसायिक जीवनमा नैतिकता र इमान्दारिता ठूलो कुरा भएको जिकीर गर्दै ४ वर्षको पढाईले मात्र अगाडी बढ्न नसकिने भएकोले त्यसपछिको उच्च शिक्षा हासिल गर्न तथा व्यवसायिक जीवनमा हरेक दिन केही न केही सिक्नुपर्ने बताउनु भयो ।
यस्तै कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले व्यवसायिक जीवनमा प्रवेश गर्ने विद्यार्थीहरुलाई शुभकामना दिँदै कलेजले आउँदा दिनहरुमा पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले इमान्दार र नैतिकवान भएर अगाडी बढ्दा सफलता हासिल गर्न सकिने जिकीर गर्नुभयो ।
विदाई कार्यक्रममा नव इन्जिनियर विद्यार्थीहरुले ४ वर्षे स्नातक तहको अध्ययनका क्रममा विताएका पलहरुको स्मरण गर्दै प्राध्यापकहरु र कलेज परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानीत गरिएको थियो । चेयरमेयर गोल्ड अवार्ड राजेन्द्र पौडेल र शीतल पाण्डेले प्राप्त गर्दा प्रोग्राम टपर अवार्ड भने राजेन्द्र पौडेल र शीतल पाण्डेले संयुक्त रुपमा र बिबेक भण्डारीले प्राप्त गरेका थिए । कार्यक्रममा विषयगत अवार्डहरु पनि प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: