लगानीकर्ता ठग्न अम्बे स्टीलको प्रिमियम आईपीओ, टाट पल्टिन लागेको कम्पनीलाई अनुमतिको चुनौती

२०८१ पुष २६

विष्ट दिपक
काठमाडौं पुस २४, पछिल्लो समय वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेका कम्पनीहरू पनि आईपीओ जारी गर्ने प्रक्रियामा अघि बढेका छन् । बजारमा आईपीओ जारी गरेर सर्वसाधारण लगानीकर्ताबाट सहजै रकम उठाउन सकिने देखिएसँगै अहिले घाटामा रहेर बन्द हुन लागेका कम्पनीहरूमा आईपीओ ल्याउने होड नै चलिरहेको छ। शेयर बजारबाट पैसा उठाउने र आफ्ना कर्जा भुक्तानी गर्नका लागि कम्पनीहरूले लगानीकर्तालाई गुमराहमा राखेर प्रिमियममा आईपीओ जारी गर्न थालेका हुन् । सोहीमध्यको एक कम्पनी हो अम्बे स्टील ।

वित्तीय रूपमा टाट पल्टिन लागेको अम्बे स्टील आईपीओबाट रकम उठाएर आफ्नो अस्तित्व जोगाउने प्रयास गरिरहेको छ । अम्बे स्टील्सले विगतका वर्षहरूमा आफ्नो वित्तीय सूचकांकहरूमा तीव्र उतारचढाव भोगेको छ । कम्पनीको कुल सञ्चालन आय आर्थिक वर्ष २०७७÷७८ मा ९ अर्ब २५ करोड ३० लाख रुपैयाँ बाट आर्थिक वर्ष २०७९÷८० मा ८ अर्ब ३४ करोड ८० लाखमा घटेको देखिन्छ । गत आर्थिक वर्षको ९ महिनासम्म पनि कम्पनीको कुल सञ्चालन आय ५ अर्ब ३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । कोभिड १९ र आर्थिक मन्दिमा समेत सन्तोषजनक व्यापार गरेको कम्पनीको आम्दानी पछिल्लो समय निरन्तर खस्किँदै गइरहेको देखिन्छ ।

ब्याज, कर, मूल्यह्रास र समाप्तीपूर्वको आम्दानी मार्जिन आव २०७७÷७८ मा ७.२० प्रतिशत, आव २०७८।०७९ मा १.२७ प्रतिशत र आव २०७९÷८० मा ६.४३ प्रतिशतमा रहेको छ । यता गत आर्थिक वर्ष २०८०।०८१ को ९ महिनामा सुधार हुँदै ७.५९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको ब्याज आवरण अनुपात २०७९÷८० मा १.२१ गुणामा झरेको थियो भने गत आर्थिक वर्षको ९ महिनामा यो १.१४ गुणा पुगेको छ ।
कुल ऋण–इबिट्डा अनुपात २०७७÷७८ मा ५.९८ गुणा रहेकोमा यो २०७९÷८० मा ७.२९ गुणा र गत आर्थिक वर्षको ९ महिनामा ९.१६ गुणा पुगेको छ, जसले कम्पनीमा ऋणको दबाब बढिरहेको संकेत गरेको छ । तर चालु अनुपात भने स्थिर रहँदै आव २०७७÷७८ मा १.०१ गुणाबाट २०७९÷८० मा १.१२ गुणा र गत आर्थिक वर्षको ९ महिनामा १.२६ गुणा पुगेको छ ।
वित्तीय सूचक हेर्दा कम्पनीको समग्र वित्तीय स्थायित्वलाई प्रभावित गरिरहेको छ । इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई मध्यम स्तरको क्रेडिट जोखिमका रूपमा वर्गीकृत गरेको छ । कम्पनीको पूँजी संरचना मध्यम रूपमा ऋणभारयुक्त रहेको देखिन्छ । २०७९ साउनमा कम्पनीको कुल गियरिङ अनुपात २.३६ थियो, जुन २०७८ साउनमा २.८६ थियो । यद्यपि नयाँ १५ टन क्षमताको भट्टी स्थापनाका लागि भएको पुँजीगत खर्चले ९ महिनामा ऋण वृद्धि गराउँदा २०७९ चैतमा गियरिङ अनुपात २.८० पुगेको छ । यसले कम्पनीको वित्तीय जोखिम बढाएको छ । थप रूपमा २०७९ मा ब्याज कभरेज अनुपात १.२१ मा झरेको छ, जुन २०७८ मा १.२७ थियो ।
यस कम्पनीले मुख्य रूपमा भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्दछ, जसको मूल्य बजारमा निर्भर हुन्छ । यी कच्चा पदार्थको मूल्यमा आएको अस्थिरताले कम्पनीको नाफामाथि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । कम्पनीले आयातका लागि अमेरिकी डलरमा कारोबार गरे पनि बिक्री भने नेपाली रुपैयाँमा हुनेहुँदा विदेशी मुद्रा विनिमय जोखिमको सामना गरिरहेको छ । कम्पनीसँग विदेशी मुद्रा घाटा न्यूनीकरण गर्नका लागि हेजिङ अभ्यासको कुनै व्यवस्था छैन ।
नेपाल र भारत दुबैको सरकारी नीतिहरूले कम्पनीलाई नकारात्मक प्रभाव पारिरहेको छ । फलाम र स्टिल उद्योगमा प्रवेश सहज भएकोले प्रतिस्पर्धा तीव्र छ । नयाँ खेलाडीको प्रवेश र पूराना कम्पनीहरूको क्षमता विस्तारले स्टिलको बजार मूल्यमा गिरावट ल्याएको छ, जसले कम्पनीको राजस्व र नाफालाई असर गरेको छ । कुल मिलाएर अम्बे स्टिल्स लिमिटेडले विभिन्न वित्तीय र सञ्चालन चुनौतीहरूको सामना गरिरहेको छ, जसले कम्पनीको दिगो वृद्धि र स्थायित्वमा थप दबाब सिर्जना गरेको छ ।
सोहि कम्पनी लगानीकर्ताको आँखामा छारो हाल्दै प्रिमियममा आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डको दैलोमा पुगेको छ । अम्बे स्टिल्सले १०० रुपैयाँ अंकित मूल्यमा २०३ रुपैयाँ थप गर्दै १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । लगानीकर्ताबाट कम्पनी ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार रुपैयाँ उठाउने दाउमा रहेको छ ।
निरन्तर वित्तीय सूचकमा नाजुक बनिरहेको अम्बे अंकित मूल्यमा आईपीओ निष्कासनका लागि सक्षम देखिएपनि प्रिमियममा आईपीओ निष्काशन ठगीधन्दा हुने देखिएको छ । वित्तीय सूचकको अवस्था हेर्दा कम्पनीले अंकित मूल्यमा आईपीओ जारी गर्ने हो भने सहजै अनुमति पाउने देखिन्छ । अम्बे स्टीलको वित्तीय अवस्था नाजुक रहेको हुँदा प्रिमियममा आईपीओ अनुमति पाउनु चुनौंती रहेको धितोपत्र बोर्ड स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘प्रिमियममा आईपीओ निष्काशन अनुमति विवादित हुने गरेको छ । अहिले अध्यक्षले पनि प्रिमियममा सकेसम्म शेयर निष्काशनको अनुमति नदिने बताएका छन् । दिनु नै परेको खण्डमा सबै अध्ययन गरेर मात्र दिने भनिएको छ । जहाँसम्म अम्बेको कुरा छ यो कम्पनीले केही प्रिमियम कम नै गर्नुपर्ने देखिन्छ ।’

अब यस्तो कम्पनीलाई प्रिमियममा आईपीओ अनुमति कसरी पाउँदा प्रश्न उठ्न थालेका छन् । पछिल्लो समय लगानीकर्ताहरुले पनि १०० रुपैयाँ पाउँदै आइरहेको शेयर प्रिमियममा अनुमति दिनु भनेको कम्पनी र नियामकको बदमासीका रुपमा आवाज उठाउँदै आइरहेका छन् ।
२००७ अगस्ट २६ मा अम्बे ग्रुपको हिस्सा रूपमा स्थापित भएको यो कम्पनी २०२३ अक्टोबर १९ मा अम्बे स्टिल्स लिमिटेडको रूपमा रूपान्तरण भएको हो । यसको उत्पादन प्लान्ट भैरहवा, गोनाहा गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस कम्पनीले टीएमटी स्टिल बार्स (१,४४,००० मेट्रिक टन प्रतिवर्ष), विलेट्स (१,२०,००० मेट्रिक टन प्रतिवर्ष), जीआई वायर (१४,४०० मेट्रिक टन प्रतिवर्ष), र ग्यावियन बक्स (३० लाख वर्ग मिटर) उत्पादन गर्दै आएको छ । कम्पनीको शेयर स्वामित्वमा २४ प्रतिशत हिस्सा शोभाकर न्यौपाने, १८ प्रतिशत हिस्सा शिवाज न्यौपाने, १२.५० प्रतिशत हिस्सा सज्जन अग्रवाल र ११ प्रतिशत हिस्सा शिवानी न्यौपानेको रहेको छ ।
अम्बे ग्रुप र शंकर ग्रुपको लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले समेत प्रिमियममा आईपीओ जारी गर्ने तयारी गरेको । रिद्धिसिद्धि पनि वित्तीय रुपमा निकै नाजुक अवस्था रहेको कम्पनी हो ।
बजारलाई पारदर्शी र ब्यवस्थित बनाउने प्रतिवद्धता ब्यक्त गर्दै आइरहेका सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले संकटमा रहेको अम्बे र रिद्धिसिद्धिलाई आईपीओ निष्काशन अनुमतिका विषयमा के निर्णय लिन्छन् त्यो हेर्ने बाँकी छ ।

वित्तीय संकटमा रिद्धिसिद्धि सिमेन्ट, लगानीकर्तालाई गुमराह पार्न ल्याउँदै प्रिमियममा आइपीओ

काठमाडौं पुस २३, नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम रिद्धिसिद्धि सिमेन्ट पछिल्लो समय व्यापारिक चुनौंती र वित्तीय अस्थिरताको चपेटामा परेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले आफ्नो प्रारम्भिक वर्षहरूमा राम्रो प्रदर्शन गरेको भए पनि हालका वर्षहरूमा यसको वित्तीय स्थिति कमजोर बनेको देखिन्छ ।
कम्पनीले हेटौंडामा रहेको राटोमाटे प्लान्टमा साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल यसको उत्पादन क्षमता ७९ प्रतिशत मात्र उपयोग भइरहेको छ, जबकि बाँकी क्लिंकरलाई अन्य स्थानिय ग्राइण्डिङ इकाईहरूमा बेच्ने गरिएको छ । यसले उत्पादन क्षमताको पूर्ण उपयोगको कमीलाई संकेत गरेको छ ।
रिद्धिसिद्धिको व्यापारमा हालका वर्षहरूमा गिरावट आएको छ । सन् २०२२ मा कम्पनीको व्यापार ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ थियो भने सन् २०२३ मा यो घटेर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ पुगेको छ । यस गिरावटको प्रमुख कारणमा सिमेन्टको मूल्य प्रतिस्पर्धा, कच्चा पदार्थ र ऊर्जा लागतमा आएको उतारचढाव र निर्माण क्षेत्रको मौसमी मागका कारण भएको अस्थिरता छ ।

हालैको समयको सन्दर्भमा कम्पनीको मार्जिनमा गिरावट देखिएको छ । २०२१ मा २६.१८ प्रतिशत रहेको यो अनुपात २०२२ मा घटेर १८.०३ प्रतिशत पुगेको थियो र सन् २०२४ मा यसमा केही सुधार भए पनि यो २४.८१ प्रतिशतमा सीमित रह्यो । यसले कम्पनीको मुनाफामा स्थिरता नआएको देखाउँछ ।
त्यसैगरी, कम्पनीको ब्याज कभरेज अनुपात पनि चाँसोको विषय बनिरहेको छ । २०२१ मा २.०४ रहेको ब्याज कभरेज अनुपात २०२३ मा घटेर ०.८९ह पुगेको छ, जसले कम्पनीको ब्याज तिर्ने क्षमतालाई चुनौंती दिएको छ । यसको परिणाम स्वरूप कम्पनीलाई वित्तीय संकटको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।
कुल ऋण–जीसीए अनुपात पनि धेरै चिन्ताजनक देखिएको छ । सन् २०२१ मा ११.९४ वर्ष रहेको यो अनुपात सन् २०२३ मा २९.५१ वर्ष र २०२४ मा २४.९६ वर्ष पुगेको छ । यसले संकेत गर्दछ कि कम्पनीले आफ्नो ऋण चुक्ता गर्न अत्यधिक समय लिनेछ र यसको वित्तीय स्थिति थप अस्थिर बन्न सक्छ ।
समग्र गियरिङ अनुपात पनि कम्पनीको उच्च ऋण बोझलाई दर्शाउँछ । २०२१ मा ४.२५ह रहेको गियरिङ अनुपात सन् २०२३ मा ३.५९ पुगेको थियो, तर सन् २०२४ मा यो पुनः ३.८३ पुगेको छ, जसले कम्पनीमा अझै पनि उच्च ऋण बोझ रहेको संकेत गर्दछ ।

नेपालको सिमेन्ट उद्योगमा प्रतिस्पर्धा अत्यधिक रहेको छ । यहाँ ६० भन्दा बढी सिमेन्ट उत्पादक र २० भन्दा बढी क्लिंकर उत्पादन एकाइहरू सञ्चालनमा छन् । यसले नयाँ प्रवेशकर्ताहरूको लागि मूल्य निर्धारणको शक्ति सीमित बनाएको छ । निर्माण र विकास खर्चको मौसमी प्रकृतिले सिमेन्टको मागमा ठूलो उतारचढाव ल्याउँछ, जसले मूल्य निर्धारण र लाभप्रदतालाई प्रत्यक्ष असर गर्दछ । साथै, कच्चा पदार्थ, ऊर्जा, इन्धन र यातायात लागतमा आएको उतारचढावले उद्योगको मुनाफामा असर गरेको छ ।
रिद्धिसिद्धि सिमेन्टले प्रारम्भमा निजी इक्विटी–भेन्चर क्यापिटलिस्टहरूबाट पुँजी संकलन गरेको थियो र कम्पनीले आइपीओ अघि बढाउने योजना बनाएको छ । यदि आइपीओ सफल भएमा, यसले कम्पनीलाई ऋण घटाउन र वित्तीय सूचकहरू सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यसले कम्पनीलाई आफ्नो वित्तीय अस्थिरता कम गर्न र व्यवसायलाई स्थिरता दिन सहयोग पु¥याउने छ । तर, आइपीओ असफल भएमा, कम्पनीको वित्तीय स्थिति झन् गहिरो समस्या उत्पन्न गर्ने जोखिम रहेको छ । यस स्थिति सँगै कम्पनीलाई अझ ठूलो वित्तीय दबाव र ऋणको समस्या भोग्नुपर्ने हुन सक्छ । यसै कारणले, रिद्धिसिद्धि सिमेन्टको भविष्य यसको वित्तीय व्यवस्थापन र रणनीतिक निर्णयमा निर्भर गर्ने छ ।
वित्तीय रुपमा गम्भीर संकटमा रहेको रिद्धिसिद्धि सिमेन्टले अब लगानीकर्तालाई गुमराहमा राखेर प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता २१४ रुपैयाँको मूल्यमा १ करोड २१ लाख ७१ हजार कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ । यस कदमले लगानीकर्ताहरूसँग वित्तीय अस्थिरता र कम्पनीको कमजोर आर्थिक स्थितिको बारेमा धेरै प्रश्नहरू उठाएको छ । विशेषगरी, रिद्धिसिद्धिको घट्दो व्यापारिक प्रदर्शन र उच्च ऋणको बोझले यो आइपीओको विश्वसनीयतामा ठूलो शंका उत्पन्न भएको छ ।
वित्तीय रुपमा टाट पल्टिएर बन्द हुन लागेको कम्पनीले सर्वसाधारणलाई प्रिमियममा आइपीओ भिडाउन खोज्ने नियत माथि प्रश्न उठेको छ । कम्पनीको वित्तीय स्थिति तीव्र रुपमा बिग्रँदै गएपछि यस आइपीओको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डको निर्णय महत्वपूर्ण हुनेछ ।
हालै काठमाडौं र निजगढ फास्ट ट्रयाकमा गुणस्तरहीन सिमेन्ट आपूर्ति गर्ने आरोपमा रिद्दिसिद्दि सिमेन्ट आलोचित भएको छ । कम्पनीले गुणस्तरहिन सिमेन्ट आपूर्ति गर्दै आएको र नियामक निकायले यस विषयमा कुनै कारबाही नगरेकोले नागरिक स्तरबाट प्रश्न उठिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: