बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित

२०८१ पुष १८

काठमाडौं पुस १८, नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालले बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई गति दिएर लैजाने भन्ने स्पष्ट पार्ने प्रयास गरे ।
पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार काण्डमा परेर निलम्वनमा परेपछि प्राधिकरणलाई सम्हाल्न आईपुगेका दाहाल अर्थमन्त्रालयका सह–सचिव हुन् । मन्त्रिपरिषदबाटै पूर्ण अध्यक्षको आधिकारिकता लिएर नयाँ अध्यक्ष नियुक्ती हुनु अघिको छोटो समयमा प्राधिकरणलाई सकेको पुनर्संरचना गर्ने उद्घोष गरेका छन् । अध्यक्ष दाहालको हिजोको पत्रकार सम्मेलनले बीमा क्षेत्र उत्साहित भएको छ ।
अध्यक्ष दाहालले बीमा प्राधिकरणलाई पद्धति अनुरुप अघि बढाउने, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने, नियमन प्रभावकारी बनाउने र बीमाको सिद्धान्त अनुरुप बीमा क्षेत्रलाई अघि बढाउने उद्घोष गरेका छन् । यसले बीमा क्षेत्रमा सुधारको पक्षमा रहेकाहरु उत्साहित भएका छन् । अध्यक्ष दाहालले बीमा सर्भेयर, बीमा अभिकर्तालाई पनि समय सापेक्ष तालिम अनिवार्य गर्ने व्यवस्था गर्ने योजना अघि सारेका छन् ।
अध्यक्ष दाहालले प्राधिकरणका तीन जना निर्देशकहरुलाई अगाडि राखेरै बीमा प्राधिकरणको अधिकार विभाग अनुसार प्रत्यायोजना गरिएको र हरेक कामका लागि अध्यक्षको आउनुपर्ने व्यवस्था अन्त्य गरिएको प्रष्ट पारे । नयाँ व्यवस्थाले कर्मचारीहरुको निर्णय क्षमता विकास गर्ने दाहालले स्पष्ट पारेका छन् ।
अध्यक्ष दाहालको अर्को महत्वपूर्ण विषयको बीमा प्राधिकरण, बीमक कम्पनी, बीमित तथा राज्यका अन्य स्टेक होल्डरबीच एकतावद्ध भएर बीमा क्षेत्रको समृद्धिका लागि काम गर्ने बताए । बीमाको पहुँच वृद्धिका लागि सञ्चार माध्यमहरुको भूमिका जरुरी भएको समेत उनले स्पष्ट पारे ।
अध्यक्ष दाहालले बीमा क्षेत्रमा नविन प्रविधिको प्रयोग, नयाँ प्रडक्ट सहित दक्ष जनशक्तिमार्फत आम जनतालाई बीमा सेवा पु¥याउने दृढता व्यक्त गरे । अध्यक्ष दाहालले के गर्छु र के गर्दिन भन्दा पनि प्राधिकरणलाई सिष्टममा आफै हिड्न सक्ने बनाउने प्रतिवद्धता व्यक्त गर्नु सिङ्गो बीमा क्षेत्रका लागि सकारात्मक हुन आएको छ ।
अध्यक्ष दाहालले प्राधिरणमा लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक नियुक्ती सम्बन्धी प्रक्रिया छिट्टै पूरा गर्ने प्रतिवद्धता मात्रै जनाएनन्, आफू जानु अघि आफैले टीका लगाउने समेत बताए । कार्यकारी नियुक्ती प्रक्रिया शुरुसँगै प्राधिकरणमा अन्य तहमा समेत बढुवा हुने हुँदा अध्यक्ष दाहालको उक्त प्रतिवद्धताले कर्मचारीहरुमा समेत नयाँ उत्साह जाग्न पुगेको देखिन्छ ।
बीमा क्षेत्रमा गलत गर्ने बीमा कम्पनीहरुलाई कारवाही गर्ने प्रतिवद्धताले बीमा क्षेत्रमा गलत धन्दा चलाउनेहरुमाथि अब विगतमा झै सेटिङ नहुने स्पष्ट भएको छ । यसले बीमा क्षेत्रमा इमान्दार व्यवसाय गर्ने कम्पनीहरुमा नयाँ आशा पलाएको छ । नेपाली बीमा क्षेत्रमा दुई सरकारी कम्पनी टेक ओभर गर्नुपर्ने अवस्थामा पुगिसकेको सन्दर्भमा अध्यक्ष दाहालबाट आएको प्रतिवद्धताले विकृतिको चाङ् भएको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी पनि साइजमा आउने विश्वास गरिएको छ ।
राज्यका सबै स्टेक होल्डरसँग सहकार्य, समन्वय गर्दै अघि बढ्ने अध्यक्ष दाहालको प्रतिवद्धतासँगै छोटो समयका लागि भएपनि बीमा क्षेत्रमा नयाँ र गतिशिल परिवर्तन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: