
हिरण्यलाल श्रेष्ठ
गणेश पण्डितसित नेकपा (एमाले)को, प्रतिनिधिसभामा र पुष्पलाल स्मृति प्रतिष्ठानमा सहयात्री भएर हामी दुबैले काम ग¥यौं । उहाँ देशभक्त लोकतान्त्रिक र प्रगतिशील खेमाका प्रखर योद्धा हुनुहुन्थ्यो ।
गणेश पण्डितको देहावसान हुँदा धुम्वाराही पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर राखिएको थियो । ने.क.पा.माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाउनु भएको थियो । पूर्व सभामुख रामचन्द्र पौडेल र सुभाष नेम्वाङ, अष्टलक्ष्मी शाक्य तथा गिरिराजमणि पोखरेल आदिले त्यहाँ श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
आर्यघाटमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधव कुमार नेपाल र सदस्यहरूले श्रद्धाजली अर्पण गर्नुभएको थियो ।
योगदानलाई कदर गरेर नै मृत्यु पर्यन्त श्रद्धाञ्जली अर्पण गर्दछन्, पार्टीका नेतागण, प्रतिष्ठान र जिल्लावासीहरू ठूलो संख्यामा भेला हुन्छन् । गणेश पण्डितको निधनमा जिल्ला शिक्षकहरू गैर–कम्युनिष्ट पार्टीहरूका नेताहरू (नेपाली काँग्रेस) समेत पार्टी कार्यालय र आर्यघाटमा पुगेका थिए ।
उहाँको असामयिक देहावसानलाई अपूरणीय क्षतिका रूपमा सबैले ग्रहण गरेका थिए ।
पार्टीमा गणेश पण्डित र म सँगै काम गरेको मात्र होइन, महाकाली सन्धिको विरूद्ध हामीसँगै उभिएका थियौं । त्यसैले पार्टी विभाजन हुँदा हामी दुबै नेकपा (माले) तर्फ लागेका थियौं ।
सदनमा पनि हामी दुबैले राष्ट्रिय, लोकतन्त्र र समसामयिक जनताका मुद्दाहरू उठाउँथ्यौ । गणेश पण्डितको छवि देशभक्त जनवादी योद्धाको रूपमा थियो ।
हामी दुबै जनाले पुष्पलाल स्मृति प्रतिष्ठानमा काम गर्यो । म कार्य समितिको सदस्य मात्र थिएँ । उहाँले सचिव भएर जिम्मेवारी पूर्ण भूमिका खेल्नु भएको थियो । हामी दुबैले पुष्पलाल स्मृति अङ्क २०५२ मा लेख्यौं । मैले “पुष्पलाल के के विषयमा प्रथम ?“ भन्ने शीर्षकमा लेख लेखेँ । क. गणेश पण्डितले ‘पुष्पलालप्रति’ शिर्षकमा एउटा कविता लेख्नुभएको थियो जो यस प्रकार छ–
“छर्दै अमृत वासना फुलिदियौ हे ’पुष्प’ यौटा तिमी
ज्योति ‘लाल’ बनेर कोटि जनमा साँच्चै उदायौ तिमी । मान्छेमा तिमी ‘श्रेष्ठ’ दिप्त दिप झैं नेपाल यो धर्तीको तिम्रै स्वर्गीय ‘स्मृति’को चहकमा चम्कोस् ‘प्रतिष्ठान’ यो ।
हामी दुबैले कालापानी बारे लेखेका छौं । मैल “कालापानी र कालीको मुहान’’ पुस्तक लेखेँ । गणेश पण्डितले “कालापानी’’ कविता सग्रह लेख्नु भयो । विषयमा समानता, अभिव्यक्ति माध्यममा विविधता रह्यो । राष्ट्र र राष्ट्रियता प्रतिको चिन्ता साझा रह्यो । हामी दुबैले जेल भोगेको २०४६ सालको संयुक्त जनआन्दोलनमा सक्रिय रहेको थियौं । हामी दुबै जना संसद्को तर्फबाट संयुक्त राज्य अमेरिकाको अध्ययन भ्रमणमा विभिन्न बेला पुगेका थियौं ।
धेरै मोडहरूमा सहायात्रा गरेको गणेश पण्डितको योगदानको कारण मैले गणेश पण्डितको देहावसानलाई अपूरणीय क्षति मानेको छु । देशभक्त योद्धाप्रति हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया दिनुहोस्: