‘कामरेड जलजला’ उपन्यास प्रेम, दर्शन र इतिहास सहितको संगम

२०८१ मंसिर १६

 

धनबहादुर मगर
सिङ्गो जीवन वामपन्थी आन्दोलनमा समर्पित ९२ वर्षीय मोहनविक्रम सिंह, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल, गोविन्द नारायण, चौथौं महाविधवेशनका स्वर्गीय निर्मल लामा, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहनवैद्य किरण, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका, माधव कुमार नेपाल, लगायत वामपन्थी हस्तीहरुका गुरु र सबैका गुरु नेकपा (मसाल)मा महामन्त्री मोहन विक्रम सिंहद्धारा लिखित १३ सय पृष्ठ लामो राजनैतिक प्रेम, दर्शन र इतिहास सहितको उपन्यास नेपालको आजसम्मकै सबैभन्दा ठूलो उपन्यासको रुपमा लिएको छ । उपन्यास लेखन २३ वर्ष लगाएर तयार गरेको जनाएको छ ।

यसमा व्यक्त लेखकको संक्षिप्त विचार यहाँ प्रस्तुत गरिएको छ
१) ‘कामरेड जलजला’ उपन्यासको विमोचन हुन थालेको छ ।
२०३८ साल मङ्सिर १ गते दिल्लीमा एउटा बस दुर्घटनामा कामरेड जलजलाको मृत्यु भएको थियो । उनको ४३औं स्मृति दिवसको अवसरमा मङ्सिर १ गते नै यो उपन्यासको विमोचन गर्ने हाम्रो सोचाइ थियो । तर त्यही बिचमा दशैं, तिहार र छठ पर्वहरू परेकाले प्रेसहरू बन्द भएकाले तथा अन्य कतिपय प्राविधिक समस्याका कारणले मङ्सिर १ गते यो पुस्तकको विमोचन गर्नु सम्भव भएन । तैपनि उनको निधन भएको ४३ औं स्मृति वर्षको मङ्सिर महिनामा नै यो पुस्तकको विमोचन भएको छ ।
२) यो उपन्यास के हो र कस्तो लेखिएको छ ? त्यो कुरा मैले भन्न सक्दिन र मैले भन्न सक्ने कुरा पनि होइन । त्यसको निरुपण पाठक र समीक्षकहरूले नै गर्नु हुने छ । जे होस्, यो उपन्यास लेख्नुको पछाडि मेरो कुन दृष्टिकोण वा उद्देश्यले काम गरेको छ वा कुन प्रकारको परिस्थितिमा मैले यो उपन्यास लेखेँ ? यहाँ मैले त्यसबारे सक्षिप्त रूपमा केही प्रकाश पार्ने प्रयत्न गरेको छु ।
३) उपन्यासको क्षेत्रमा मेरो यो पहिलो प्रवेश हो । निश्चय नै, २०१२ सालमा पाल्पा जेलमा भएको बेलादेखि मैले उपन्यासको क्षेत्रमा लेख्ने कार्य गर्दै आएको छु र त्यसरी उपन्यासको लेखनको क्षेत्रमा मेरो करिब ७० वर्षको लामो समय बितिसकेको छ । मैले यसभन्दा पहिले ५ वटा उपन्यासहरु लेखेको छु । तर ती सबै कतै हराए वा नष्ट भए र, त्यसैले ती मध्ये कुनै पनि प्रकाशित हुन सकेनन् र ‘कामरेड जलजला’ मेरो प्रकाशित भएको यो पहिलो उपन्यास हो ।
४) प्रस्तुत उपन्यास मुख्य रूपले जलजलासित नै सम्बन्धित छ । तर यो उनको जीवनी, आत्मकथा वा संस्मरण होइन र यो उपन्यास हो । त्यसैले यो उपन्यास उनको जीवनको घेरासम्म सीमित छैन र यसले उनको जीवन भन्दा बाहिरको विस्तृत क्षेत्रमा प्रवेश गर्दछ । त्यो क्षेत्रभित्र सम्पूर्ण प्रकृति, मानव समाज र ब्रह्माण्ड समेत आउँछ । प्रस्तुत उपन्यासले सम्पूर्ण विश्वको परिभ्रमण गर्दछ । उपन्यासले त्यसरी विश्वको परिभ्रमण गर्ने बेलामा आजको समाज वा संसार जुन रूपमा छ, त्यही रूपमा मात्र तिनीहरूलाई बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न नगरेर तिनीहरूलाई बदल्ने र तिनीहरूको ठाउँमा नयाँ, स्वतन्त्र, सुखी र सुन्दर संसार र मानव जीवनको परिकल्पना गर्दछ । उपन्यासको सम्पूर्ण बिषयवस्तु वा कथा प्रवाहको सारतत्व त्यही नै हो । उक्त विषयमा यो उपन्यास कति सफल भएको छ ? यो तपाईहरूले बताउने कुरा हो ।
५) प्रस्तुत पुस्तक तयार पार्न मलाई करिब २३ वर्ष लामो समय लागेको छ । मैले त्यो पुस्तक लेख्न ठिक कुन दिन शुरु गरें, त्यो मिति मलाई सम्झना छैन । अहिले त्यसका पूराना पाण्डुलिपिहरू पनि उपलब्ध छैनन् । तर एउटा कुराको मलाई सम्झना छ, मेरो छोरा विश्वमोहन जन्मनु भन्दा करिब एक वर्ष पहिले मैले यो उपन्यास लेख्न शुरु गरेको थिएँ । अहिले विश्वमोहन २२ वर्षमा लाग्यो । त्यसैले यो पुस्तक लेख्न थालेको करिब २३ वर्ष लागेको मैले अनुमान गरेको छु ।
६) त्यो अवधिमा म पार्टीका राजनीतिक, संगठनात्मक कार्य, विभिन्न आन्दोलन वा पार्टीसँग सम्बन्धित कैयौं दस्तावेज, लेख तथा विभिन्न पुस्तक वा पुस्तिकाहरू लेख्ने काममा पनि लाग्नु प¥यो । त्यसका साथै उपन्यासको कथाप्रवाह नेपालका कैयौं स्थानहरूका साथै भारतको कुमाउँ, गढवाल र केरल तथा युरोपका फ्रान्स, जर्मनी, रुस र युनानका कतिपय स्थानहरूसित पनि सम्बन्धित छ । ती स्थानहरूको चित्रणमा सकेसम्म यथार्थता दिनका लागि मैले ती सबै स्थानहरू सम्बन्धी बढी भन्दा बढी सामग्रीहरू जुटाउन वा अध्ययन गर्न तथा स्थलगत अध्ययन गर्नका लागि ती सबै स्थानहरूमा प्रायशः भ्रमण गर्नु परेको थियो । त्यसैले यो पुस्तक पूरा गर्न यति धेरै समय लाग्न गयो ।
७) प्रस्तुत उपन्यासमा नेपालका र सम्पूर्ण संसारका पनि कैयौं महत्वपूर्ण पक्षहरूमाथि प्रकाश पार्ने प्रयत्न गरिएको छ । प्राथमिक रूपमा यो उपन्यास प्रेमको कथा नै हो । तर उपन्यासको प्रधान पक्ष प्रेम नभएर विश्वको दर्शन नै हो । उपन्यासमा प्रेम र दर्शन दुबै आपसमा कसरी घुलमिल हुन पुगेका छन् ? त्यो पनि यहाँहरूले उपन्यास पढेपछि नै थाहा पाउनु हुनेछ । विभिन्न कथा वा उपन्यासहरूमा प्रेमका कथाहरू सुखान्त वा दुखान्त रूपमा टुङ्गिन्छन् । तर हिन्दु पुराणमा एउटा कथा यस्तो छ ः जो एकैसाथ दुखान्त र सुखान्तका रूपमा टुङ्गिन्छ । त्यो हो महादेव र पार्वतीको कथा । सतीको दक्षप्रजापतिको यज्ञमा आत्मदाह गरेर मृत्यु हुन्छ । त्यो कथाको दुखान्त पक्ष थियो । तर सतीको पार्वतीको रूपमा पुनर्जन्म हुन्छ र उनको पुनः महादेवसित नै विवाह हुन्छ । त्यो कथाको सुखान्त पक्ष थियो । त्यसरी त्यो कथामा दुखान्त र सुखान्त पक्षहरू आपसमा मिल्न पुग्दछन् । प्रस्तुत उपन्यासमा पनि एक प्रकारले त्यस्तै हुन्छ र दुःखान्त र सुखान्त पक्षहरूको आपसमा घुलमिल हुन्छ । निश्चय नै, त्यसमा एउटा अन्तर भने अवश्य छ ः महादेव र पार्वतीको कथामा अलौकिक रूपमा, अर्थात् पुनर्जन्मको माध्यमबाट, त्यस्तो हुन गएको छ । तर प्रस्तुत उपन्यासमा लौकिक रूपले नै दुःखान्त र सुखान्त पक्षहरूको एक अर्कामा रुपान्तरण हुन्छ ।

८) उपन्यासको प्रधान पक्ष दर्शन नै हो । उपन्यासले मुख्य रूपमा सम्पूर्ण मानवजातिको चिन्तनप्रणाली र दर्शनबारे विचार गर्दछ । चिन्तनप्रणाली कुन प्रकारको हुन्छ ? त्यसले इतिहासको प्रवाह र समाजको स्वरुपलाई पनि काफी हदसम्म प्रभावित गर्दछ । अहिले समाजमा विद्यमान दुषित र विषाक्त प्रकारको मानसिकताको परिणामस्वरुप मानवसमाज नर्क जस्तै भएको छ । उपन्यासले त्यस प्रकारको मानसिकतालाई उच्च मानवीय स्तरमा उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसपछि नै अहिलेको मानवसमाज स्वर्ग बन्न सक्नेछ । उपन्यासले नर्क र स्वर्ग सम्बन्धी अवधारणालाई दैवी वा अलौकिक रूपमा होइन लौकिक रूपमा नै बुझ्दछ र त्यही रूपमा प्रस्तुत पनि गर्दछ ।
९) कार्ल माक्र्सले यो बताएका छन्, हाम्रो मुख्य जोड संसारलाई बदल्ने कुरामा हुनुपर्दछ । त्यो कार्य कम्युनिस्ट आन्दोलनद्वारा नै सम्पन्न हुन सक्दछ । तर, अहिलेको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या के हो भने आफ्ना सिद्धान्त र आदर्शहरूमा धेरै नै विचलन भएको छ । उपन्यासमा त्यो अवस्थाको विस्तृत रूपले समीक्षा गरिएको छ ।
१०) समग्र रूपमा उपन्यासलाई उच्च दार्शनिक चिन्तन र क्रान्तिकारी दृष्टिकोणद्वारा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । आफ्ना विचार र उद्देश्यहरूमा उपन्यास कति सफल भएको छ ? त्यो कुरा यसका पाठक र समीक्षकहरूले नै बताउन सक्नु हुनेछ । उपन्यास साहित्यिक र कलात्मक रूपले पनि कति सफल भएको छ ? त्यो कुरा पनि यो उपन्यासको समीक्षाको दौरानमा नै प्रष्ट हुँदै जानेछ ।
११) यो उपन्यास तयार पार्न मलाई पार्टीका सबै साथीहरूबाट धेरै मद्दत गरेको छ । उपन्यासका लागि स्थलगत अध्ययन वा विभिन्न स्थानहरूको भ्रमण आदि कामका लागि नेपाल, भारत र युरोपका साथीहरूबाट महत्वपूर्ण सहयोग प्राप्त भएको छ । त्यस प्रकारको सहयोग विना यो पुस्तक तयार हुन सक्दैनथ्यो ।

१२) त्यो पुस्तक तयार पार्न सहयोग पु¥याउने नेपाल, भारत वा युरोपका धेरै देशहरूका मित्रहरू र शुभेच्छुकहरू प्रति सबैलाई धन्यवाद दिन चाहन्छु । तिनीहरूको सूची लामो छ । त्यसैले ती सबैको नाम उल्लेख गर्नु सम्भव छैन ।
१३) उपन्यास तयार पार्न सहयोग गर्नेहरूको नामको उल्लेख नगरीकन म रहन सक्दिन । त्यस सिलसिलामा सर्वप्रथम यो उपन्यासको आवरण चित्र बनाइदिनु हुने वरिष्ठ कलाकार रतन कुमार राईप्रति आभार प्रकट गर्न चाहन्छु । उहाँले उपन्यासको सम्पूर्ण पाण्डुलिपि पढेर त्यसको आत्मा र सौन्दर्यलाई आवरण चित्रमा उतार्नु भएको छ । डा.सुकुम शर्माले ३÷३ पल्ट उपन्यासको शुद्धाशुद्धी गरेर धेरै नै मद्दत गर्नु भएको छ । राम प्रकाश पुरीले पनि पुस्तकको सम्पादन गर्न र शुद्धाशुद्धी पढ्न समेत धेरै मद्दत गर्नु भएको छ । त्यो उपन्यास तयार पार्ने कार्यमा डा.गोविन्दप्रसाद आचार्यले पनि विभिन्न प्रकारको सहयोग पु¥याउनु भएको छ । उहाँ दृष्टिविहिन भएपनि उहाँले यस उपन्यासलाई सम्पूर्ण रुपमा पठन गरेर जुन सल्लाह र सुझावहरु दिने गर्नभयो, त्यसबाट मलाई धेरै सहयोग पुगेको छ ।

१४) यस उपन्यास टाईप गर्ने कार्यमा प्रारम्भमा बहिनी गायत्री पौडेलले धेरै नै सहयोग गरेकी थिइन् । खास गरेर मेरा नबुझिने अक्षरहरु पढेर उनले उपन्यास टाईप गर्ने कार्यमा मद्दत गरेकी थिइन् । पछि गोविन्द शर्माले उपन्यासको टाईपको कामलाई अगाडि बढाउने र पूरा गर्ने कार्य गरे । त्यो उपन्यासको टाइप गर्ने काममा उनले लामो समयदेखि निरन्तर कडा मिहिनेत गरेका थिए । मेरा नबुझिने अक्षर बुझ्नु पनि सामान्य कुरा थिएन । प्रत्येक म्याटरलाई कैयौं पल्ट दोहो¥याएर टाइप गर्नु पर्दथ्यो वा कैयौं पल्ट शुद्धाशुद्धी सच्याउनु पर्दथ्यो । उपन्यासका कैयौं परिच्छेदहरूमा बारम्बार थपघट वा परिवर्तन भइरहन्थ्यो । ती सबै काम धैर्यतापूर्वक गरिरहे । ती सबै कामको लागि गायत्री र गोविन्द दुबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।
१५) गत केही वर्ष देखि मेरा आँखा कमजोर भएर मैले अक्षरहरु राम्ररी पढ्न वा लेख्न नसक्ने समस्या पैदा भयो । त्यो अवस्थामा मैले आफ्ना कैयौं सहयोगी साथीहरुद्वारा नै उपन्यास लेख्ने वा पढ्न पठाएर शुद्धाशुद्धी गर्ने काम गर्नु प¥यो । त्यो काममा सुवास जी.सी., बासुदेव पोखरेल, प्रकाश जी.सी., मिलन सिंह ठकुरी र सगर सुवेदी समेतबाट सहयोग प्राप्त भएको छ । ती सबैलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु ।
१६) माथि जुन व्यक्तिहरूको चर्चा गरियो, उहाँहरूको सहयोग उपन्यासको आन्तरिक तयारीसित नै सम्बन्धित रह्यो । त्यो बाहेक बाह्य रूपले त्यो उपन्यासको तयारीमा सहयोग गर्नेहरूको लामो सूची छ । ती सबैको नामको उल्लेख गर्नु सम्भव छैन । तैपनि यहाँ मैले केही सहयोगीहरुको नामको अवश्य पनि उल्लेख गर्न चाहन्छु ।
उपन्यासको तयारीमा दुर्गा पौडेलको सहयोग विशेष रूपले उल्लेखनीय छ । नेपाल र कुमाउँ, गढवालका कतिपय स्थानहरू वा युरोपका पनि कतिपय देशहरूमा मसँगै गएर उनले उपन्यासका लागि सामग्रीहरूको संकलन, स्थलगत अध्ययन वा जनसम्पर्कको काममा धेरै मदत गरेकी थिइन् । अहिले उपन्यासको प्रकाशनमा उनको सहयोग महत्वपूर्ण रहेको छ । दुर्गा पौडेलको मद्दत विना यो पुस्तक प्रकाशन गर्न धेरै नै मुस्किल पर्ने थियो । घरभित्र पनि उनको धेरै नै महत्वपूर्ण सहयोग रह्यो । घरभित्रका दैनिक कार्यहरू सहित घरव्यवहार सम्बन्धी सबै कामहरूबाट उनले मलाई पूरै फुर्सद दिने गरिन् । मेरो स्वास्थ्य, खानपिनमा समेत सँधै ध्यान राखिरहिन् । त्यसले मलाई उपन्यास, अन्य लेखपढ वा पार्टी सम्बन्धी काममा पूरा समय दिन अवसर प्राप्त भयो ।
१७) उपन्यासको काममा अन्य साथीहरू वा इष्टमित्रबाट पनि धेरै सहयोग प्राप्त भएको छ । थवाङमा बर्मन बुढा र उहाँकी बहिनी तुलकुमारी बुढा थवाङको यात्रामा, थवाङमा सामग्री संकलन गर्न वा स्थलगत भ्रमण गर्न जाँदा शशीधर भण्डारी, मेघनाथ विष्ट, सुवर्ण पौडेल, तिलक जी.सी, गोपाल नेपाली, फ्रान्सका सोधकर्ता वेनोइट केलमेल, लुम्बिनी र तिलौराकोट समेतको बौद्ध स्थान वा बौद्ध सभ्यताको अध्ययनमा डा.गितु गिरी र बद्रे आलम, मगर जातिको इतिहासको अध्ययनमा भोजविक्रम बुढामगर समेत, थारु जातिको इतिहासको अध्ययनमा रश्मीराज नेपाली र शिव पौडेल, खसजातिको इतिहासको अध्ययनमा बालकृष्ण पोखरेल, प्यूठानका विभिन्न स्थानहरूको अध्ययनमा खगुलाल गुरुङ, रण बहादुर खड्का, ठाकुर गिरी, भेषमान गिरी, टीका जी.सी, तिलक जी.सी., फ्रान्सको अध्ययनमा डा.वेनोइट केलमेल, कर्णाली र सुदुरपश्चिमको अध्ययनमा मनोज भट्ट र प्रेम कैदी, कुमाउ र गढवालको अध्ययनमा सुन्दरलाल बहुगुणा, बिमला बहुगुणा, मालतीदेवी र कौसानी आश्रमका शिक्षक र छात्राहरु, रुसको अध्ययनमा रुसका तत्कालीन नेपाली राजदूत रविमोहन कोपिला, जीवा लामिछाने, कृष्णप्रसाद श्रेष्ठ आदि, जर्मनीमा थोमस, गाबी तथा एम.एल.पी.डी.का साथीहरु, युनानमा शेखर र अन्य कतिपय साथीहरु आदिको महत्वपूर्ण सहयोग रहेको छ । मैले उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।
१८) उक्त उपन्यास तयार पार्न नेपालको काठमाडौं उपत्यकाको स्वयम्भुनाथ, पशुपतिनाथ, अष्टमातृका, पाल्पाको रामापिथेकसको बँगराको अवशेष, नवलपुर र दाङ देउखुरीको ढुङ्गेयुगिन सभ्यता, लुम्बिनी र कपिलवस्तुको बौद्ध सभ्यता, कर्णाली प्रदेश र सुदुरपश्चिमको इतिहास र संस्कृति, थारु, मगर र खसको इतिहास, गण्डकीको गुरुङ जातिको परिचय, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, मष्ट, मतवाली क्षेत्री र देउकी प्रथा, कुमाउ र गढवालको इतिहास, संस्कृति र जनजीवन, फ्रान्सको इतिहास र राजतन्त्र विरोधी आन्दोलन, त्यहाँको कला र संस्कृति, जर्मनीको इतिहास, फासिज्म र फासिवाद विरोधी आन्दोलन, फासिवादका विरुद्ध जर्मन जनताको वीरतापूर्ण संघर्ष, रुसमा खास गरेर स्टालिनग्राद र
लेनिनग्रादमा हिटलरको आक्रमणको विरुद्ध प्रतिरोधात्मक युद्ध र समाजवादको पतन, युनानको प्राचीन दर्शन, सौर्यजगत, तारामण्डलहरू र सुदूर अन्तरिक्ष, हिमाल र संसारका सबै महासागर र महाद्वीपहरू आदि सम्बन्धी पुस्तक, पत्रिका, गजेटिएर, इन्टरनेट, विश्वकोष आदिको अध्ययनबाट पनि यो उपन्यास तयार पार्न धेरै सहयोग पुगेको छ । ती सबै पुस्तक, पत्रिका वा तिनीहरूका लेखक वा सम्पादकहरूको नामको सूची धेरै नै लामो छ र ती सबैको उल्लेख गर्नु सम्भव छैन । तैपनि मैले ती सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

१९) प्रस्तुत उपन्यासमा करिब ५०० पात्रहरू छन् । तिनीहरू मध्ये केही वास्तविक पात्रहरू पनि छन्, जस मध्ये निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर के.सी., रश्मीराज नेपाली, लैनसिङ वाङ्देल, पारिजात, सत्यमोहन जोशी, बालकृष्ण पोख्रेल, खगुलाल गुरुङ, भक्तपुरका लिलाभक्त मुनकर्मी लगायत हुनुहन्छ । त्यस्तै, अलमोडाको लक्ष्मी आश्रमकी सरला बहन, कुमाउँका सुन्दरलाल बहुगुणा, मालती देवी, गढवालका चन्द्रसिंह गढवाली, तौलिहवा कुश्माका हर्के र हमाने, भैरहवाका बद्रे आलम, संगीतकार जीवन शर्मा, ओखरकोट पिपलटारीकी साहिली भाउजू, ओखरकोट काब्रारुखे साइली आमा, ओखरकोटका जुठे बि.क, थवाङका बर्मन बुढा, बागलुङका चन्द्र नरसिंह आदिको पनि चर्चा गरिएको छ । उपन्यासमा जलजलाको बुवा वेदप्रसाद ढकाल, आमा प्रभा (ललिता देवि ढकाल) र बहिनी कान्ताको पनि उपन्यासमा वास्तविक पात्रको रुपमा उल्लेख गरिएको छ । यो उपन्यासको काल अवधि करिब २०३२ देखि २०४१ सम्मको करिब १ दशकको अवधि नै रहेको छ । यो उपन्यासमा बास्तविक पात्रहरूको चित्रण गर्दा त्यही कालसित सम्बन्धित पात्रहरूलाई नै चित्रण गरिएको छ । त्यसरी उपन्यासलाई बढी भन्दा बढी वास्तविक धरातलमा स्थापित गर्ने प्रयत्न गरिएको छ ।
२०) यो उपन्यासको प्रकाशन जनशिक्षा गृहले गरेको छ । जनशिक्षा गृहको २०१३ सालमा प्यूठानको ओखरकोटमा स्थापना गरिएको थियो र त्यसले गत करिब ७ दशकको अवधीमा धेरै पुस्तक र पुस्तिकाहरुको प्रकाशन गरिसकेको छ । अहिले त्यो संस्थाको काठमाडौंमा दर्ता भएको छ र त्यसको दर्ता भएपछि त्यसले प्रकाशन गर्न थालेको ‘कामरेड जलजला’ उपन्यास त्यसको पहिलो प्रकाशन हो ।
२१) कामरेड जलजला उपन्यासको डा.प्रो.हरी शर्माले अंग्रेजीमा अनुवाद गरिरहनु भएको छ । उहाँले त्यो उपन्यासका ८ भाग मध्ये ७ भागको अनुवाद पुरा गरिसक्नु भएको छ र अहिले ८ औं भागको अनुवाद गर्दै हुनुहुन्छ । यो उपन्यासलाई हिन्दीमा पनि अनुवाद गर्नका लागि प्रयत्न भैरहेको छ र यो उपन्यासको प्रकाशन पछि छिटै हिन्दीमा पनि अनुवाद शुरु गर्ने योजना रहेको छ ।
अन्त्यमा, यो उपन्यासको विमोचन गर्न आउनु भएकी का.जलजलाकी वयोवृद्ध आमा ललितादेवी (प्रभा) र यो विमोचन कार्यक्रमको अध्यक्षता गरिरहनु भएका का.चित्रबहादुर केसी सहित यो विमोचन कार्यक्रममा उपस्थित हुनु भएका सबै अतिथि र सहभागीहरूप्रति आभार प्रकट गर्न चाहन्छु ।
मोहन विक्रम सिंह
मितिः २०८१÷०८÷१५ गते ।

काठमाडौं मंसीर १५, जनशिक्षा गृहको आयोजनामा आज ‘कामरेड जलजला’ उपन्यासको विमोचन कार्यक्रमकी प्रमुख अतिथि श्रीमती ललिता ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । विमोचन कार्यक्रमको अध्यक्षता चित्र बहादुर के.सीले गरेका थिए ।

माथि प्रस्तुत विचार कार्यक्रममा वितरित लेखको विचारमा आधारित प्रेस नोट हुन्, भाषा सम्पादन गरे पनि यो विचार लेखककै हुन् ।

प्रतिक्रिया दिनुहोस्: