त्रिचालिस वर्षको प्राज्ञिक उपज “सहधर्मिणी “(आर्दश काव्य)

२०८१ मंसिर १२

धनप्रसाद शर्मा पौडेल

त्रिभुवन विश्व विद्यालयवाट २०६३, मा ४३ वर्षे लामो शिक्षण पेशामा रही सह–प्राध्यापक पदबाट अवकाशप्राप्त बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व जगन्नाथप्रसाद लम्सालद्वारा लिखित आदर्श काव्य हो सह–धर्मिणी । प्रारम्भमा एक नजर शीर्षकबाट भएको काव्य लेखन धर्तीमा आएकी चन्द्रमादेखि दिव्य शरीरको शुभआर्शिवादसम्म ७१ शीर्षकमा अभिव्यक्त भएको छ । शेषकुमारी लम्सालका सुकीर्तिहरुको सम्झना र भावपूर्ण श्रद्धाञ्जली, विनम्रतापूर्वक सबैमा समपर्ण एवं प्रा.डा.षडानन्द पौडेलको सह–धर्मिणी काव्यको अनुशीलनबाट काव्यकृति बुझ्नमा सहज भएको छ ।

काव्यकार पश्चिम नेपालको गण्डकी प्रदेशमा मात्र होइन मुलुकी प्राज्ञिक जगत कै सुपरिचित व्यक्तित्व । माध्यमिक तहदेखि विश्व विद्यालय अन्तरगतका विभिन्न क्याम्पसहरुमा विषयविज्ञका रुपमा नेपाली विषयको प्राध्यापनको अलवा क्याम्पस प्रमुखका रुपमा निस्कलङ्क, कुशल, सफल शैक्षिक प्रशासकको भूमिकालाई आज पनि पर्वत, बागलुङ जिल्लाहरुमा उदाहरणीय रुपमा लिइन्छ । उहाँमा अन्तरनिहित आफ्नै गाउँ समाज र राष्ट्र प्रेमको प्रवल अभेद्य भाव कै कारण सामाजिक योगदानसमेत उदारणीय रहेकै छ ।

काव्यकारसँग वि.स.२०३२ सालदेखि तीन वर्षसम्म भवानी विद्यापीठ मा.वि. फलेवास पर्वतमा पढ्ने सुअवसर प्राप्त गरेको थिए । २०३६ सालमा उहाँ त्रि.वि.वि.मा सेवा प्रवेश भएसँगै भेटघाट पातलिए पनि २०४४ मा पर्वत वहुमुखी क्याम्पस फलेवासको क्याम्पस प्रमुखको भूमिकामा रहँदा जिल्ला कार्यालय कुस्मा पर्वतमा ना.सु. पदमा कार्यरत थिए । तत्कालिन धवलागिरि अञ्चलाधीश समुन्द्रकेशरी पण्डितको फलेवास क्याम्पसमा अनुगमन भ्रमण हुँदा म पनि टोलीसाथमा नै फलेवास गएको थिएँ । म उहाँका हजारौं हजार विद्यार्थीको जुलुसभित्र एक स्कूले छात्र नै थिएँ । श्रद्धेय गुरुबाट माध्यमिक तहमा पढाउँदा बसेको छाप क्याम्पस जीवन र लोकसेवा आयोगका प्रतियोगितात्मक परीक्षामा पनि अमिट रह्यो ।
मेरा गुरुप्रतिको यी व्यक्तिगत सम्बन्धका विषयमा मात्र समय नखर्ची लागौं ‘सहधर्मिणी’ (आर्दश काव्य) को अन्तर्यतर्फ कविमनको चिन्तन यसपूर्व नै विभिन्न साहित्यिक र पेशागत प्रकाशनमार्फत भएकै हुन् । हामी चेला र पाठकको चाहना भने ‘चाँडै नै पुस्तकाकार कृति आओस्’ भन्ने थियो । यस भावलाई विनम्रतापूर्वक सबैमा समपर्ण भन्ने आफ्नै भनाईबाट सम्बोधन गर्नु भएको छ ।

‘सहधर्मिणी‘ कविका सहयात्री शेषकुमारी लम्सालको २०७५ भाद्रमा उपचार कै क्रममा पोखरामा भएको अकल्पनीय दुःखद निधनको पीडादायी अवस्थाबाट उत्पन्न कृति हो । ६५ वर्षे लामो वैवाहिक जीवनको सहयात्रा भावीले टुटाई दियो । शोकलाई शक्तिमा बदल्ने कवि मन आफैँमा स्तुत्य छ । शेषकुमारी आध्यात्मिक आदर्श हिन्दू नारी, समाजसेवा र धर्म परायणता उहाँका जीवनकालका अभिन्न अङ्ग बने । यति मात्र होइन कविको बौद्धिकता उन्नयनमा बाधा अड्चन नआओस भनी घरबाट वनारस यात्रामा निस्कँदा घरकाजको जिम्मा म आफैँ लिन्छु भन्ने अठोटले घर परिवारलाई आश्वस्त पार्न सक्ने क्षमता अझै भन्नुपर्दा तत्कालीन हाम्रा पहाडी ग्रामीण परिवेशको सामाजिक मनोदशाभित्रबाट उत्पन्न यो चेतलाई जति प्रशंसा गरे पनि अधुरो रहन्छ ।

यस्ता आदर्श पात्र नै यस काव्यका नायिका हुन् । विषयवस्तु झ्याउरे छन्दमा हुनाले सङ्गीत भर्दै गायनमा उपयोग गर्ने प्रचुर सम्भावना रहेको छ । आफ्ना विगतको गहिरो सम्झनाले कवि बढी नै ‘नोस्टाल्जिक’ बन्नु भएको छ । उहाँको दैनन्दिनको चिन्तन झल्किने यो कृति पढ्दा विश्व प्रसिद्ध रसियन लेखक लियो टोल्स्टायको ‘बुद्धिमान’ को ‘हरेक दिन विचारका लागि’ भन्ने पुस्तकको भाव सम्झना आउँछ । विषयवस्तु आध्यात्मिक र राष्ट्रभावले सर्वत्र ओतप्रोत छ ।

चोखेको जुरो, भैरव थान वनौका ती डाँडा ।
खाडीको लेख, हम्पाल लेख, डहरे देउराली ।।

ती डाँडा चढ्दा, रमाईलो लाग्ने उकाली ओराली ।
त्यो चितीपानी त्यो खोलाखेत त्यहाँका छहरा ।।

थुमिको गाउँ त्यो माथितिर लोभ्याउने पहरा ।
कटहर, केरा, अम्वा र आँप साँच्चैको फलेवास ।।

ढाँडपानी भन्ने स्वादिलो पानी बिर्सेर बिर्सिन्न ।
साँच्चैकी आमा नेपाल आमा गाउँ मै बस्ताछिन । ।

हिमाल पुगी देखाई दाँत मुसुक्क हाँस्तछिन् ।
सिरसिर वतास चलेको वेला रमाई नाच्दछिन ।।
काव्यकृतिको अध्ययनपूर्व यी आदर्शपात्रप्रति मात्र लक्षित शोक काव्य हो कि ? भन्ने अनुमान अध्ययनपश्चात आंशिक सत्य ठहरिन्छ । यो मूल विषय प्रसङ्गको अतिरिक्त मोटा–मोटी रुपमा निम्न निस्कर्षमा पुग्न सकिन्छ ।
–राष्ट्रप्रेम र स्थानीय समाजसेवीहरुको योगदानलाई यथाप्रसङ्ग सम्बोधन ।
–पवित्र गण्डक क्षेत्रका तीर्थस्थलको आध्यात्मिक महत्वमाथि चर्चा ।
–पर्वत र बागलुङ जिल्लाका अधिकांश पर्यटकीय र आर्थिक सम्भावनाको क्षेत्र पहिचान ।
–लोप हुन लागेका स्थानीय बोलिचालीका केही शब्दावलीको प्रयोगले लोपोन्मुख स्थानीय नेपाली भाषालाई जीवन्त राख्ने प्रयास (दमौरा, तीजु, अङगेरु, आदि जङ्गली फल, जुरो (चुचुरो) आदि)
–समसामयिक राजनीति र अड्डातन्त्रका कार्यशैलीमाथि चोटिलो प्रहार ।
–अध्यात्मवाद–दयालु र बौद्धिक जीवन धर्मविनाको समाजमा रहन सक्तैन भन्ने सद्विचार ।
–अमर प्रेम गाथाको उच्च स्तरीय प्रस्तुति आदि ।

जीवनको सम्पूर्ण उर्जावान समय शैक्षिक र प्राज्ञिक क्षेत्रमा खर्चिनु भएका कविवरलाई सेवामा रहँदासम्म पुस्तक प्रकाशन गर्ने हुटहुटीले नछुनु, धैर्यता र विषयवस्तुको सञ्चय, विश्लेषण एवं परिपाकमा नै समय ब्यतित भएको अनुभूति हुन्छ । काव्यमा अभिव्यक्त आध्यात्मिक आदर्श हिन्दू नारीको पारिवारिक र सामाजिक कर्तव्य समग्र शालिग्राम क्षेत्रको भूगोल, शैक्षिक, इतिहास, धार्मिक र पर्यटकीय स्थलको चर्चा मात्र होइन कि समग्र मुलुकी राजनीति र प्रशासनमा देखिएको विकृति विसंगतिलाई यथाप्रसङ्गसँग मर्मभेदी प्रहार गर्नमा कवि कत्ति पनि हिच्किचाउनु भएको छैन ।

समग्रमा वर्तमानमा प्रकाशित नेपाली भाषाका साहित्यिक कृतिहरुमा अब्वल दर्जाको उत्कृष्ट कृति । अझै भनौ यस कृतिको सूक्ष्म समीक्षा गर्नमा यी पंक्तिकारको उर्जाले मात्र पुग्दैन । नेपाली साहित्यमा ‘सहधर्मिणी’ ले एक ईट्टा थप्ने काम मात्र होइन, एकै पटक सयौं ईट्टा थप भएको अनुभूति दिने काम गरेको छ । यस कृतिका लागि श्रद्धेय गुरुप्रति सादर नमन । थप प्रकाशोन्मुख कृतिहरु पनि अध्ययन गर्ने अवसर प्राप्त होस् । उहाँको सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना ।

लेखक : पूर्व प्रमुख जिल्ला अधिकारी/अधिवक्ता/साहित्यकार (आफ्नो भूमि आफ्नै अनुभव, निरावरण (उपन्यास) र धर्म र भौतिकवाद नामक पुस्तकका लेखक) हुन् ।

प्रतिक्रिया दिनुहोस्: