७९ औं राष्ट्र संघीय महासभामा प्रधानमन्त्री ओलीले के भने

२०८१ आश्विन १०

मनप्रसाद न्यौपाने
काठमाडौं असोज १०, संयुक्त राष्ट्रसंघको ७९औं महासभामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग मित्रता छैन र कसैसँग पनि शत्रुता नराखेको “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’’ प्रति दृढ विश्वास राख्दै नेपालले आफ्नो परराष्ट्रनीति सञ्चालन गरेको बताएका छन् ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले मध्यपूर्वमा जारी द्वन्द्वदेखि रुस–युक्रेन युद्धका विषयमा पनि आफ्नो धारणा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी सहायता निकाय यूएसएड र एमसीसीसहितका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

महासभामा यसो भने प्रधानमन्त्री केपी शर्मा ओलीले
७९औं महसभालाई सम्वोधन गर्दै नेपालका प्रधानमन्त्री ओलीले वार्ताबाट नै द्वन्द्वको सम्वोधन गरिनुपर्ने कुरामा जोड दिए ।
राष्ट्रसंघीय महासभामा ओलीले लामो सम्बोधनमा जलवायु संकट, बढ्दो भू–राजनीतिक द्वन्द्व र सैन्य खर्चको वृद्धिका कारण विश्व अस्थिरतातिर उन्मुख भएको कुरा उठाएका थिए ।
मानिस र पृथ्वी दुबै जलवायु संकटको सँघारमा छन् । भूराजनीतिक द्वन्द्व फेरि शुरु भएको छ । सैन्य खर्च तीव्र गतिमा बढिरहेको भने अस्त्रको प्रतिस्पर्धा निरन्तर कायम छ । पारमाणविक द्वन्द्वको त्रास विगतमा भन्दा उच्च रहेको बताए ।
प्रतिकूल अवस्थामा नेतृत्वले उपयुक्त किसिमको सहकार्य र आपसी सहयोगलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए ।
युक्रेन र मध्यपूर्वका द्वन्द्वमा एकमात्र समाधान संवाद र कूटनीति रहेको विश्वास नेपालको भएको स्पष्ट पारेका छन् । प्रेम र करुणाभावले मात्रै शत्रुता र घृणा हटाएर दीर्घकालीन शान्ति कायम हुनसक्ने प्रधानमन्त्रीले धारणा राखेका थिए ।
“इजरयल र प्यालेस्टाइन द्वन्द्वमा हामी दुई देशको अवधारणालाई समर्थन गर्छौं, जसमा इजरायल र प्यालेस्टाइन राष्ट्रसंघीय प्रस्तावहरूसँग अनुकूल हुने गरी अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमाभित्र शान्ति र सुरक्षापूर्वक सह–अस्तित्वमा रहन्छन् ।’’
इजरायल र प्यालेस्टाइन दुबैलाई मान्यता दिएको नेपाल वर्षौंदेखि “दुई राज्यसहितको समाधान’’ हुनुपर्ने मान्यतामा छ ।’’, प्रम ओलीले भने ।
तर एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भू–भागमा इजरायलको “अवैधानिक उपस्थिति’’ अन्त्य गर्नुपर्ने मागसहितको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट गत साता पारित हुँदा भने नेपाल मतदानमा तटस्थ बसेका थिए ।

नेपालको छिमेक नीति र अरू सन्दर्भमा ओलीले के भने

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा नेपालका दुबै छिमेकी देशका उच्च प्रतिनिधि र विभिन्न देशका नेताहरूसँग भेटवार्ता गरेका छन् । महासभामा नेपालको परराष्ट्रनीतिको पनि चर्चा गरे ।
नेपालले कसैसँग पनि शत्रुता नराख्ने र सबैसँग मित्रता गाँस्ने अटुट आस्थासहितको परराष्ट्रनीति अवलम्बन गरेको जनाए ।
“प्रधानमन्त्री ओलीले नेपाल आफ्ना छिमेकीहरूसँग र त्यसभन्दा पर पनि निकट, मित्रतापूर्ण र रचनात्मक सम्बन्धलाई थप अभिवृद्धि गर्न चाहन्छ । त्यो पारस्परिक विश्वास, सार्वभौमिक सम्पन्नता, भौगोलिक अखण्डता, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्तमा आधारित हुनुपर्छ ।” भन्ने कुरा जोड दिएका थिए ।
महासभामा भाग लिन जानु अघि पार्टीको विदेश विभाग प्रमुख एवं भूतपूर्व उप–प्रधान तथा पर–राष्ट्रमन्त्री रघुवीर महासेठले छिमेकी देशहरूबारे सरकारको नीतिका बारेमा पनि ओलीले आफ्नो धारणा राखेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट

प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग न्यूयोर्कमा पहिलो भेटघाट भएको छ ।
भारतीय विदेश मन्त्रालयले दुई नेताबीच आपसी सम्बन्धको समीक्षा भएको र दुबै नेताले विकास साझेदारी, जलस्रोत सहकार्य, जनस्तरको सम्बन्ध र भौतिक, डिजिटल र ऊर्जा क्षेत्रमा भएको सम्पर्क सञ्जाल विस्तारप्रति प्रगतिको उल्लेख गरेका थिए ।
भारतको छिमेक पहिलो परराष्ट्रनीति अन्तर्गत नेपाल एउटा प्राथमिकतासहितको साझेदार हो । उक्त भेटले दुबै देशबीच उच्च तहको विचार आदानप्रदानको भएको थियो ।
नेपालले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छ। तर भ्रमण कहिले हुन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा चिनियाँ विदेशमन्त्री

प्रधानमन्त्री ओलीले महासभामा सम्वोधन गर्नुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले ओलीसँग भेटवार्ता गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार चिनियाँ नेताहरूको शुभेच्छा ओलीलाई सुनाउँदै वाङले नेपाल र चीनबीच राष्ट्रपति सी जिन्पिङको भ्रमणका क्रममा भएको रणनीतिक मैत्री साझेदारीको चर्चा गरेका थिए ।
“चीनले नेपाललाई सँधै आफ्नो छिमेक कूटनीतिमा महत्वपूर्ण स्थानमा राखेको छ । चीन संयुक्त भविष्यसहितको निकटतर नेपाल–चीन समुदाय बनाउन प्रतिवद्ध छ,” चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।
“अर्को वर्ष नेपाल र चीन कूटनीतिक सम्बन्ध कायम भएको ७० औं वार्षिकोत्सव मनाउँदै तयारी गरेको छ । यो अवसरमा दुबै देशले ‘बेल्ट एण्ड रोड’ र अरू सहकार्यलाई संयुक्त रूपमा प्रवद्र्धन गरेर नागरिकहरूलाई थप उपलब्धि र फाइदा दिलाउनुपर्छ ।”
चिनियाँ विदेशमन्त्रीले नेपालले कुनै पनि शक्तिलाई आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिवद्धता बारम्बार जनाएकोमा प्रशंसा गरेका थिए ।
चिनियाँ पक्षको विज्ञप्तिमा ओलीले नेपाल सरकार, यहाँका सबै दल र नागरिकले नेपाल–चीन मैत्रीलाई दृढ समर्थन गरेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: