
गत वर्ष अक्टोबर ७ मा हमासले गरेको भीषण आक्रमणयपछि इजरेलमा पहिलो पटक दशौं हजार इजरेलीहरूले सडक प्रदर्शन र हडताल गरेका छन् । हमासले बन्धक बनाएका छ जनाको शव हालै गाजाको दक्षिणी क्षेत्रमा फेला परेपछि इजरेलभरि ठूला विरोधप्रदर्शनहरू भएका छन् ।
विरोधप्रदर्शन र हडताल किन
प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सत्ता लम्ब्याउन युद्धविराम र बन्धक मुक्तिको सम्झौता गर्न नदिएको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।
हमासले बन्धक बनाएका व्यक्तिहरूका परिवारले यसअघिबाटै नेतन्याहूको रणनीतिप्रति विहमति व्यक्त गर्दै आएका थिए। तर दक्षिण गाजाको रफाहस्थित एउटा सुरुङबाट इजरेली सैनिकहरूले छ बन्धकको शव निकालेपछि परिवारहरूको आक्रोश अझै धेरै बढ्यो ।
गत जुलाईमा छलफल भएको युद्धविरामको प्रस्तावमा मृत भेटिएकामध्ये तीन जनालाई मुक्त गर्ने उल्लेख गरिएको बताइएको छ ।
प्रदर्शनकारीहरूले “तिमी प्रमुख भएका कारण यसको जिम्मेवार तिमी नै हौ’ भन्ने नारा लेखिएका प्ल्याकार्ड बोकेका थिए ।
गत वर्षको अक्टोबरमा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये ९७ जनाको अझै गाजामै छन्। यद्यपि तीमध्ये ३३ जनाको मृत्यु भइसकेको ठानिएको छ।
अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले इजरेल र हमासबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन्। युद्धविराम हुन सके हमासको नियन्त्रणमा रहेका सबै बन्धक र इजरेली जेलमा रहेका प्यालेस्टिनीहरू रिहा हुने छन्
प्रदर्शनकारीहरू के चाहन्छन्
प्रदर्शनकारीहरूले बाँकी ९७ जना मुक्त हुने सुनिश्चिततासहित हमाससँग युद्धविरामलाई प्राथमिकता दिन माग गरेका छन् ।
शरोन लिफ्सेट्सका बुवा ओडेड अझैसम्म गाजामा बन्धक छन्। उनले ’बीबीसी रेडिओ फोर’को ’टुडे’ कार्यक्रममा छ जना मारिएको खबरले “हमाससँग सम्झौता गर्न ढिलाइ हुँदा आफ्नो चिन्ता अझै बढेको” बताइन् ।
उनले हमासको सन्देश स्पष्ट भएको र “अनावश्यक युद्ध रोकेर आफ्ना मानिसहरू फिर्ता ल्याउने सहमति” नभएसम्म यस्ता कार्यहरू दोहो¥याइरहन सक्ने चिन्ता व्यक्त गरिन् ।
हमासले बन्धक बनाएका मानिसका परिवारका सदस्यहरूको संस्था होस्टेज एन्ड मिसिङ फेमिलिज् फोरमले “११ महिनासम्म हमासको नियन्त्रणमा दुर्व्यवहार, यातना र भोक खपेका“ छ जनाको अहिले हत्या भएको जनाएको छ ।
“सम्झौता गर्न ढिलो भएकाले उनीहरूको र अरू धेरै बन्धकहरूको मृत्यु निम्तिएको छ,“ फोरमको विज्ञप्तिमा भनिएको छ ।
विरोधप्रदर्शन कसले आयोजना गर्छ
छ बन्धकको शव गाजामा भेटिएको समाचार सार्वजनिक हुनासाथ सडकमा मानिसहरूले जुलुस निकाल्न थाले । त्यसपछि थप विरोधप्रदर्शन भयो र हडतालको आह्वान गरियो ।
इजरेलको मुख्य मजदुर सङ्गठन ’हिस्टाड्रूट’ सन् २०२३ को अक्टोबरदेखि नै हुन थालेको हडतालको प्रमुख आयोजक हो ।
त्यसबाहेक बन्धक बनाइएका मानिसहरूका परिवारका सदस्यहरूको संस्था होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले सर्वसाधारण जनतालाई “देश ठप्प पार्ने व्यापक प्रदर्शन”मा सहभागी हुन आह्वान गरेको थियो ।
परिणामस्वरूप सोमवार धेरै सार्वजनिक सेवाहरू र प्रमुख सडक सञ्जालहरूमा अवरोध भएको थियो।
इजरेलका पूर्वप्रधानमन्त्री तथा विपक्षी नेता यार लापिड पनि प्रदर्शनमा सहभागी भए। उनले बन्धकहरूको मृत्युबाट “मन दुखेका” इजरेलीहरूलाई प्रदर्शनमा भाग लिन आह्वान पनि गरे।
हडतालका कारण इजरेलभरि व्यापार प्रभावित भयो, विद्यालयहरू खुलेनन् र यातायात तथा उडान समेत प्रभावित भयो ।
इजरायल सरकार के भन्छ
इजरायलका प्रधानमन्त्री नेतन्याहूले युद्धविरामको सम्झौता आफूले रोकेको आरोप अस्वीकार गरेका छन्। उनले छ जना मारिएको घटनामा दोषी हमास रहेको बताए ।
उनले हत्यामा संलग्नहरूलाई फेला नपारुन्जेल इजरेलले “थकाइ नमार्ने” बताए। उनले छ जनाको मृत्यु भएकोमा क्षमायाचना पनि गरे ।
हमासका अधिकारी इज्जात अल–रिश्कले इजरेलले युद्धविरामका लागि सहमति नजनाएका कारण बन्धकहरूको मृत्यु भएको बताए। तर उनले ती बन्धकहरूको मृत्यु कसरी भयो भन्नेबारे केही खुलाएनन् ।
सडक, विद्यालय, विमानस्थलसहित विभिन्न क्षेत्रमा दुई दिनका लागि आह्वान गरिएको हडताल दिउँसो २ बजेबाट अन्त्य गर्न इजरेलको श्रम अदालतले आदेश दिएको थियो। तर प्रदर्शनकारीहरू साँझसम्मै प्रदर्शन जारी राख्ने पक्षमा उभिए ।
अतिदक्षिणपन्थी धारणाका लागि चर्चित इजरेली अर्थमन्त्री बेजालेल स्मोट्रिकले हडताल गैरकानुनी भएको बताउँदै अदालतको आदेशलाई स्वागत गरे ।
इजरेली रक्षामन्त्री योआभ गालान्टले युद्धविरामको सम्झौता गर्न लामो समयदेखि प्रधानमन्त्री नेतन्याहूलाई आग्रह गरिरहेका छन् ।
सामाजिक सञ्जाल ’एक्स’मा लेख्दै उनले युद्धविरामका लागि नेतन्याहूले सारेका मागहरू उल्ट्याउन सुरक्षा मन्त्रिपरिषद्सँग माग गरेका छन् ।
“नियोजित रूपमा मारिएका ती बन्धकहरूलाई जोगाउन निकै ढिलो भइसकेको थियो। हमासको कब्जामा रहेका बन्धकहरू घर फर्किनुपर्छ,” उनले भनेका छन् ।
विरोधप्रदर्शन र हडतालबारे सर्वसाधारण इजरेलीहरू के भन्छन्
बन्धक बनाइएका मानिसहरूका परिवारको समर्थनमा हजारौँ इजरेलीहरू सडकमा भेला भए पनि कैयौँ नगर र सहरका मानिसहरूले विरोधप्रदर्शनमा सहभागी हुन अस्वीकार गरेका छन् ।
तेल अभिभकी तमारा आफू हडतालको पक्षमा नभएको बताउँछिन् । “हामी बन्धक फिर्ता होऊन् भन्ने चाहन्छौँ तर हामीले सबै कुरा ठप्प गर्नु हुँदैन । हामी बाँच्नु पनि पर्छ,” उनले भनिन् ।
तेल अभिभमै बस्ने निभा हड्तालमा पनि कैयौँ पसलहरू खुला देखेर आफू छक्क परेको बताउँछिन्।
“देश भिडन्तको स्थितिमा छ तर उनले नेता न्याहुले त्यो सुनिरहेका छैनन् ’’ “यो अवस्थामा केही परिवर्तन आएको छ । हामी किन सधैँ त्रासमा बसिरहने?” उनको प्रश्न छ ।
नेतन्याहू सरकारलाई कस्तो असर पर्छ
हमासको आक्रमणयताकै सबैभन्दा ठूलो प्रदर्शनले बहुप्रतीक्षित युद्धविरामको सम्झौताका लागि सरकारमाथि दबाव सिर्जना गर्ने ठानिएको छ ।
तर प्रदर्शनकारीहरूले आफ्नो रिस प्रधानमन्त्रीमाथि व्यक्तिगत रूपमा पोखेको देखिन्छ । तर प्रदर्शनका कारण उनको रणनीतिमा अर्थपूर्ण परिवर्तन हुन्छ वा हुँदैन भन्ने बुझ्न निकै कठिन छ ।
यूकेको कन्जर्भेटिभ पार्टीका पूर्वसांसद एलिस्टर बर्ट नेतन्याहू आफ्नै मन्त्रिपरिषद्का केही सदस्यबाट हमाससँग सम्झौता गर्न नहुने दबावमा रहेको बताउँछन् ।
उनले बीबीसीसँग भने, “त्यो असम्भव भए पनि उनले आफूले गरेको वाचा पूरा गरेर मात्रै सफल हुन सकिन्छ भन्ने बाटो रोजेका छन् ।”
प्रतिक्रिया दिनुहोस्: