
काठमाडौं भाद्र २० सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको मिति २०८१ भदौ २० मा शिष्टाचार भेट भएको छ । उक्त भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त दासो सोनाम तोग्बे, भुटान, निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिक, माल्दिभ्स, निर्वाचन आयोगका अध्यक्ष आर. एम. ए. एल. रथ्नायेके, श्रीलंका, निर्वाचन आयोगका उपनिर्वाचन आयुक्त नितेश व्यास, भारत र उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । भेटघाटको क्रममा राष्ट्रपतिज्यूबाट आवधिक निर्वाचन लोकतन्त्रको आधार भएकोले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन आवश्यक रहेको बताए । उनले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्च मार्फत सदस्य राष्ट्रहरुका निर्वाचन गर्ने निकायहरुबीच आपसी सहयोग विस्तार हुँदै गएकोमा प्रसन्नता व्यक्त गर्नु भयो । उक्त अवसरमा नेपालका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाले दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुको साझा मञ्चको १२औं सम्मेलनमा छलफल भएका विषयहरुको बारेमा जानकारी गराउँदै यस सम्मेलनबाट नेपालले उक्त मञ्चको अध्यक्षता ग्रहण गरेको विषय जानकारी गराउनु भयो । यसैगरी भुटानका प्रमुख निर्वाचन आयुक्त, माल्दिभ्सका निर्वाचन आयोग अध्यक्ष, श्रीलंकाका निर्वाचन आयोग अध्यक्ष र भारतका निर्वाचन आयोगका उपनिर्वाचन आयुक्तले आ–आफ्नो मन्तव्य राख्दै यस सम्मेलन उपलब्धिमूलक भएको बताए ।
निर्वाचन आयोग नेपालको आयोजनामा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्च एफइएमबीओएसएको १२ औं सम्मेलन काठमाडौंमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीद्वारा मिति २०८१ भाद्र १९ मा समुद्घाटन भएको छ । मिति २०८१ भाद्र १९ र २० गते (तदनुसार सन् २०२४ सेप्टेम्बर ४ र ५ सम्म) हुने उक्त कार्यक्रममा दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरु नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
सम्मेलनको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनको शुभकामना व्यक्त गर्दै सदस्य राष्ट्रहरुले स्वच्छ, स्वतन्त्र, पारदर्शी र विश्वसनीय निर्वाचनका लागि गरेका प्रयासहरु, सम्मेलनका विषयवस्तु र आगामी दिनमा निर्वाचन व्यवस्थापन गर्ने निकायहरुले लिनु पर्ने सुधारका रणनीतिबारे धारणा व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनीतिक नेतृत्वले पु¥याएको योगदानको स्मरण गर्नु भएको थियो । निर्वाचन आयोग नेपालका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन सत्रमा सहभागीहरुलाई स्वागत गर्नुहुँदै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।
भुटानका प्रमुख निर्वाचन आयुक्त एवम् दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चका हालका अध्यक्ष समेत रहनु भएका श्री दासो सोनाम तोग्बेको अध्यक्षता, सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलंकाका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले शुभारम्भ मन्तव्य दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सदस्य राष्ट्रहरुले निर्वाह गर्नुपर्ने भूमिका र व्यवस्थापन गर्नुपर्ने निर्वाचनका नविनतम मुद्दाहरुका सम्बन्धमा धारणा व्यक्त गर्नु भएको थियो । भुटानका प्रमुख निर्वाचन आयुक्त श्री दासो सोनाम तोग्बेले ११ औं सम्मेलन कोभिड–१९ को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको स्मरण गर्दै दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नु भएको थियो। दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन निकायको १३ औं सम्मेलन नभएसम्म यसको अध्यक्षता निर्वाचन आयोग नेपालले गर्नेछ ।
यस सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति एवम् छलफल समेत रहनेछ । उक्त छलफल निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रहने छ । दुईदिने यस सम्मेलनमा काठमाडौं घोषणापत्र समेत जारी गरिने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: