सहकारीले समाज बदलेको कुरा सुन्न पाइयो ः सूर्य थापा

२०८१ भाद्र १७

काठमाण्डौ भाद्र १७, प्रतिनिधि सभा संघीय संसदबाट गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसँग छलफल गरेका छन् ।
साना किसानको तर्फबाट प्रस्तुती सुनिसकेपछि प्रतिक्रिया दिनुहुँदै सभापति सूर्य थापाले आफूले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरूले गरेको योगदान र हासिल गरेको सफलताले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । उनले सहकारीले उदाहरणीय कार्य गर्न सक्छन् भन्ने प्रमाण साना किसानले प्रस्तुत गरेको जानकारी पाउँदा खुसी लागेको बताए ।
छानविन समितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्ने क्रममा साना किसान कृषि सहकारीहरुले सामाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको बताए ।
यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्रबैंकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औंल्याए ।
सभापति थापाले देशभरको सहकारी दर्ता सूचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको समेत बताए । सहकारीको सिद्धान्त, नीति, विधि, पद्धति र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताए । सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताए ।
यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीले सामाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गरेका थिए । उनले सबै सहकारीमा समस्या नरहेको बताउँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरे ।
देशभरका साना किसान कृषि सहकारी संस्थाहरुमा समस्या नरहेको भन्दै अध्यक्ष पाठकले संस्थालाई नीति, विधि र पद्धतीमा सञ्चालन गर्न सके कुनैपनि संस्थामा समस्या नआउने बताए ।
आफूहरूले नेपाल कृषि सहकारी केन्द्रीय संघ र यसको सञ्जालमा रहेका संस्थाहरुमा अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउँदै समस्या आउनै नदिन अधिकतम् पहल गरेको जानकारी गराएका थिए ।
अध्यक्ष पाठकले साना किसान कृषि सहकारीहरुले सञ्चालन गरेको १ खर्व १२ अर्व रुपैयाँ अहिलेपनि सुरक्षित रहेको बताए । छलफलका क्रममा अध्यक्ष पाठकले सरकारले किसानलाई प्रविधि, सिप, भण्डारण, औजार, सिँचाई, बीउ, मल आदिमा सहयोग गर्नुपर्ने माग गरेका थिए । यसैगरी उनले किसानले उत्पादन गरेको मासु, दूध तथा अन्य कृषिजन्य वस्तुको बजारिकरण गर्नसके उत्पादन केन्द्रीत काम गरिरहेका सहकारीहरुको समस्या समाधान हुने बताए ।
जुन सहकारीको सञ्चालक र कर्मचारीहरुलाई सदस्य तथा बचतकर्ताले चिन्दैन तिनै संस्थामा समस्या रहेको भन्दै उहाँले साना किसानमा आफै सदस्य आफै सञ्चालक र आफै कर्मचारी रहेकाले कुनै समस्या नरहेको बताए । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि प्रत्येक संस्थामा लेखा सुपरिवेक्षण समितिलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रबन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीहरु, नि.महाप्रबन्धक सहित कर्मचारीहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: