
डा.बाबुराम भट्टराई
गणेश पण्डितजीको नाम मैले उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्ष भएर ०३७÷३८ को आन्दोलनको नेतृत्व गर्दा राष्ट्रिय चर्चित व्यक्तित्वको रूपमा सुनेको थिएँ र पछि ०४२ सालमा जुन बम काण्ड भयो, त्यसपछि जुन खालको त्यतिबेला पञ्चायती सरकारले दमन ग¥यो त्यो दमन गर्ने क्रममा उहाँ लगायतका थुप्रै साथीहरूलाई धरपकड गरेर यातना दिएको भन्ने कुरा पनि एउटा राष्ट्रिय चर्चाको विषय बन्यो । यसरी म पनि पञ्चायत विरोधी आन्दोलनमै लागेको हुनाले स्वतः नै हाम्रो बिचमा भावानात्मक एकता, वैचारिक सामीप्य बढ्दै गयो । पि.एच.डी. पढाइ सकेर फर्केपछि, हामीले पञ्चायत विरोधी आन्दोलनमा यस्तै स्वतन्त्र, बौद्धिक व्यक्तित्वहरू अलि वामपन्थी झुकाव भएका व्यक्तित्वहरूसँग सहकार्य गर्दथ्यौं । यसो गर्ने क्रममा ०४४÷४५ सालको कुनै समयदेखि हुनुपर्छ, उहाँसँग प्रत्यक्ष भेटघाट गर्ने, विचारको आदान प्रदान गर्ने अवसर प्राप्त भयो र त्यसपछिका दिनहरूमा हामीले विभिन्न मञ्चहरू, ‘सर्वजातीय अधिकार मञ्च’, ०४६÷४७ सालको ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ आदि बनाउने काम सँगसँगै र पञ्चायत व्यवस्थाको विरूद्ध जनआन्दोलनहरू उठान गर्ने प्रयत्न ग¥यौं । यसरीनै हाम्रो सहकार्य बढ्दै गयो । हामी त्यतिबेला भुरूङ्गखेलमा डेरा गरेर बस्थ्यौं र त्यो बाटोमा
हिँड्ने क्रममा असनको वरिपरि उहाँ माथिबाट आउनुहुन्थ्यो हामी उता नरदेवी तिरबाट आउँथ्यौं । प्रायः सँधै हाम्रो दिनको एक चोटि, त्यही बाटो हिँड्ने क्रममा भोटाहिटी असन वरिपरि जहिले पनि भेटघाट हुन्थ्यो, यसरी अत्यन्त आत्मीय ढंगको सम्बन्ध उहाँसँग विस्तार भयो र त्यसलाई मैले आफ्नो जीवनको अमूल्य घटनाको रूपमा स्मरण गर्छु ।
‘सर्वजातीय अधिकार मञ्च’ स्थापनाको दुईथरिका उद्देश्यहरू थिए । एउटा सर्वजातीय अधिकार मञ्चलाई विभिन्न जाति, समुदायहरूका हक, अधिकार स्थापना गर्ने सन्दर्भमा पञ्चायती व्यवस्था विरूद्ध एउटा लोकतान्त्रिक आन्दोलनको अंङगको रूपमा अघि सारिएको थियो । हामीले सीताराम तामाङलाई तामाङ समुदायको बौद्धिक व्यक्तित्व भएको हुनाले अध्यक्षमा चयन ग¥यौं । नेपालमा यो जातीय उत्पीडनको प्रश्न पनि लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण अङ्ग हो । दोस्रो, जातीय उत्पीडन एउटा जातिको मात्रै प्रश्न होइन, नेपालका जुन विविध जातिहरू छन्, बहुजातीय, बहुभाषिक जुन समाज छ, त्यसैले नेपालको लोकतन्त्र बहुजातीय, बहुभाषिक विविधतालाई सम्वोधन गर्ने हुनुपर्छ भन्ने ढंङगले त्यसको फोकस चाहीँ सर्वजातीय भन्नुको अर्थ त्यो थियो । त्यस अर्थमा हामीले पनि सहकार्य ग¥यौं । तर, त्यसको सार फेरि पञ्चायती निरंकुशताको अन्त्य गरेर नेपालमा बहुदलीय लोकतन्त्र स्थापना गर्ने भन्ने नै थियो ।
सर्वजातीय अधिकारको निमित्त संघर्ष अहिलेको संवैधानिक व्यवस्था समावेशी समानुपातिकको पूूर्वअभ्यास हो, वास्तवमा ! अहिले आएर हामी संघीयतामा गयौं, समावेशीतामा गयौं, हाम्रो चेत त्यति बेलादेखि नै लोकतन्त्र भनेको खाली व्यक्ति निहित स्वतन्त्रता मात्रै होइन, समानता पनि लोकतन्त्र हो; र त्यसको सँगसँगै जुन वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडन हुन्छ । त्यसको पनि सम्वोधन गरेर लोकतन्त्रलाई पूर्णता दिनुपर्छ भन्ने हाम्रो बुझाइ थियो । त्यसक्रममा मुख्यतः नेपाल विविध जातिहरूले बनेको मुलुक भएको हुनाले तिनीहरूको अधिकार पनि लोकतन्त्रको अभिन्न अङ्ग हो भनेर त्यसलाई भन्ने गरेका थियौं । र अहिले खुशी लाग्छ हामीले खासगरी माओवादी जनयुद्धपछि जातीय प्रश्न, भाषिक उत्पीडनको प्रश्न गम्भीर ढङ्गले उठायौं र ०६२÷६३ को आन्दोलन पछि हामीले जुन नयाँ संविधान बनायौं, त्यसमा हामीले शुरूका मुद्दालाई सम्वोधन गरेर अन्ततः हामी संघीयतामा गयौं र समावेशीतालाई हामीले संविधानमा व्यवस्था गर्यौं । त्यसैले पञ्चायती कालखण्डमा (चालीसको दशकमा) ‘सर्वजातीय अधिकार मञ्च’ मार्फत हामीले उठाएको मुद्दानै अहिलेको समावेशी लोकतन्त्रको एउटा पूर्वाभ्यास एउटा जननी थियो भन्न सकिन्छ ।
त्यतिवेला पञ्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय लोकतन्त्रको स्थापना गर्ने भन्ने आम अवधारणा थियो । नेपाली काँग्र्रेसले उद्धारवादी लोकतन्त्रको मात्रै पक्षधरता लिन्थ्यो । वामपन्थी र कम्युनिष्टहरूका विभिन्न घटक थिए । एमाले पनि बनिसकेको थिएन । माओवादी, एकता केन्द्र पनि बनेका थिएनन् । त्यतिवेला मसाल, मशाल, माले र माक्र्सवादी जस्ता विभिन्न समूहहरू थिए । त्यो क्रममा हाम्रो वहस, छलफल राम्रो हुँदै गयो र ४६ सालको जनआन्दोलन गर्ने बेलामा काँग्र्रेसको एउटा कित्ता र साहना प्रधानजीले नेतृत्व गरेको माक्र्सवादी, निर्मल लामाले नेतृत्व गरेको चौ.म लगायतका वामपन्थीहरू मिलेर वाम मोर्चा बन्यो, तर उहाँहरूले निर्दलीय व्यवस्थाको अन्त्य गरेर पार्टी माथिको प्रतिवन्ध फुकुवा गर्ने भन्ने मात्रै मुद्दा बनाउनु भयो । हामीले के भन्यौं भने त्यतिले मात्रै पुग्दैन, त्यति मात्रै त सात सालदेखि सत्र सालमै थियो । बहुदलीय लोकतन्त्र मात्रै भन्दा संविधान कसले बनाउने ? सार्वभौमसत्ता कसमा रहने ? भन्ने कुराको टुङ्गो लाग्दैन । पार्टी स्वतन्त्रता मात्रै ल्याएर लोकतन्त्र आउँदैन, त्यसले फेरि प्रतिक्रान्ति हुने खतरा हुन्छ । त्यसैले हामीले संविधान सभालाई केन्द्रमा राख्नुपर्छ । जनताले आफ्नो संविधान आफै बनाउनुपर्छ; तबमात्रै लोकतन्त्र पूर्ण हुन्छ भनेर अलिकति जो ¥याडिकल वामपन्थीहरू थियौं, त्यतिबेलाको मसाल, मशाल शम्भुराम श्रेष्ठ, कृष्णदास श्रेष्ठ, रूपलाल विश्वकर्मा लगायतका समूहहरू र स्वतन्त्र वाम व्यक्तित्वको रूपमा गणेश पण्डित, सीताराम तामाङ लगायत त्यसमा हुनुहुन्थ्यो । यसरी हामीले त्यो मोर्चा बनायौं; म त्यसको प्रवक्ता र संयोजक थिएँ । हाम्रो निरन्तर त्यसक्रममा छलफल भईराख्थ्यो । यसमा चाहीँ गणेश पण्डितजीको विशेष महत्व म कसरी सम्झिन्छु भने, उहाँ शिक्षक आन्दोलनको क्रममै देशव्यापी रूपमा वामपन्थी बुद्धिजीवीको हैसियतमा स्थापित हुनुहुन्थ्यो र पछि जुन खालको दमन पञ्चायती व्यवस्थाले ग¥यो, त्यो दमनको पनि एउटा सशक्त ढङ्गले प्रतिकार गरेको व्यक्ति भएकोले जुझारू वामपन्थी बुद्धिजीवीको रूपमा उहाँको व्यक्तित्व बनिसकेको थियो । त्यसैले हामी काँग्र्रेस र वाममोर्चाको तुलनामा शक्तिगत रूपमा सानो
देखिएतापनि विचारको हिसाबले संविधानसभाबाटै संविधान नबनेसम्म लोकतन्त्र पूर्ण हुँदैन भन्ने विषय त्यो बेला हामीले उठाएका थियौं । पछि जब बहुदलीय लोकतन्त्र आयो, देशमा एउटा सरकार पनि बनाउने काम भयो । अन्ततः हामीले फेरि संविधान सभाबाट संविधान बनायौं । त्यस हिसाबमा ४६ सालको संयुक्त राष्ट्रिय जनआन्दोलनले जुन मुद्दा उठाएको थियो, त्यसैको विकसित रूप माओवादी हुँदै संविधानसभासम्म पुगेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । त्यस अर्थमा पनि गणेश पण्डितजी लगायत साथीहरूले जुन योगदान गर्नुभयो र २०४६ सालदेखि त्यो विषय उठाउनु भएको थियो । अन्ततः नेपालमा चाहीँ हामीले पूरा ग¥यौं । त्यसमा मलाई गर्वको अनुभूति हुन्छ ।
गणेश पण्डितजीलाई म विशेष कसरी पनि स्मरण गर्न चाहन्छु भने, उहाँ भनाई र गराईमा एकरूपता भएको अत्यन्तै इमान्दार र लगनशील व्यक्तित्व हुनुहुन्थ्यो । अहिले म कसैको टीकाटिप्पणी गर्न चाहन्न । तर हामी हिजो त्यत्रो क्रान्तिकारी आन्दोलन गरेर आइसकेका मान्छेहरू सत्तामा पुगेपछि भ्रष्टाचारको दलदलमा फस्ने, आफ्ना आसेपासेलाई पोस्ने, विचार, राजनीतिक निष्ठा र आदर्शलाई त्याग्ने जुन प्रवृत्ति बढ्यो, त्यो गणेश पण्डितजीमा जो आफै पछि सांसद पनि हुनुभयो, आफै एउटा राष्ट्रिय रूपमा स्थापित व्यक्तित्व पनि हुनुहुन्थ्यो, उहाँले कुनै पनि निजी स्वार्थको निम्ति लोभ लालच नगरिकन निरन्तर आफ्नो सादगी जीवन कायम राख्नुभयो र जनताकै पक्षमा जीवन व्यतित गर्नुभयो । यसरी नेपाली आन्दोलनको एउटा आर्दश पात्रको रूपमा उहाँ रहनुभयो । त्यस अर्थमा नेपाली इतिहासले उहाँलाई उच्च सम्मानका साथ स्मरण गर्छ र म पनि व्यक्तिगत हिसाबले अत्यन्त घनिष्ठ आत्मीय मित्रको रूपमा निरन्तर उहाँको सम्मान गर्छु ।
नुवाकोट जस्तो ठाउँ जहाँ वामपन्थीहरूको त्यस्तो प्रभाव होइन; वास्तविकतामा त्यहाँ त पहिल्यै पञ्चायतकै बढी वर्चस्व हो र पछिल्लो चरणमा काँग्रेसकै प्रभाव भएको ठाउँ हो । त्यहाँ वामपन्थी आन्दोलनको जग बसाल्ने काम गणेश पण्डितजीले नै गर्नु भएको हो । हुन त अरू बुद्धिजीवीहरूको पनि त्यसमा केही भूमिका रह्यो, तर राजनीतिक रूपले मेलै, बुझेसम्म गणेशजीको नै त्यस क्षेत्रमा वामपन्थी आन्दोलनको वीजारोपण गर्ने र हुर्काउने काममा ठूलो योगदान रह्यो ।
यता आन्दोलन विश्खलित भइसकेपछि त्यही अनुसार अगाडि बढ्न सकेन । उहाँ जस्ता इमानदार मान्छेहरू अलिकति बाहिरबाट हेर्दा पछाडि परेजस्तो देखियो, तर मेरो विचारमा निष्ठा र आदर्शको राजनीति गर्ने मान्छे त्यसमा टिकिरहनु ठूलो कुरा हो । सत्तामा, पदमा, मन्त्री, प्रधानमन्त्री, को भयो भन्ने क्षणिक कुर्सीका कुरा हुन् । कुर्सी सिद्धिएपछि यी मान्छेका अर्थ हुँदैन । त्यसैले पनि उहाँको सम्मान जुन छ त्यो इतिहासले मूल्याङ्कन गर्छ भन्ने कुरामा म ढुक्क छु । त्यसैले परिवारका साथीहरूसँग मेरो आग्रह के हो भने ‘उहाँ केही भएन, केही गरेन भन्ने होइन, पद र प्रतिष्ठालाई ठूलो मान्ने नै होइन भन्न खोजेको हो । त्यो हालतमा क्रान्तिकारी आन्दोलनमा लाग्ने भनेको त जनता र समाजको मुक्तिको लागि लाग्ने मान्छे हो । त्यसमा योगदान गर्नु, त्यसमा निष्ठापूर्वक जीवन व्यतित गर्नु नै ठूलो कुरा हो । त्यसर्थ हामीले गर्व गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।
साभार ः गणेश पण्डित स्मृति ग्रन्थ २०८१
प्रतिक्रिया दिनुहोस्: