र्याल चुहाउँदै वैदेशिक रोजगार म्यादी बीमा व्यवसाय

२०८१ भाद्र १५

काठमाडौं भाद्र १५, नेपालको बीमा सम्बन्धी नियामक निकाय आफै अनैतिक, भ्रष्ट मानसिकताबाट ग्रसित हुँदा सिँगो बीमा जगत अव्यवस्था र भद्रगोल अवस्थाबाट गुज्रदै छ । पछिल्लो पटक वैदेशिक रोजगार म्यादी बीमामा नियामक आफैले र्याल चुहाउँदै पुलमा राखेर कमिशनको हिस्सा खोज्ने प्रयास गरेको छ ।
अस्वस्थ प्रतिस्पर्धा रोक्ने नाममा नियामकका केही सीमित व्यक्तिहरुले लघुबीमा कम्पनीलाई फाइदाका लागि लघु बीमालाई पुलमा समावेश गर्न खोजिरहेका छन् । पछिल्लो पटक बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार म्यादी बीमालाई पुलमा लैजान दबाब दिइरहेका छन् । नमान्ने केही बीमा कम्पनीहरु तथा महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीलाई पुलको जिम्मा दिएर लघु बीमा कम्पनीहरुलाई समेत हिस्सा दिन खोजिएको छ ।
बैदेशिक रोजगार म्यादी बीमा अहिलेको सर्वाधिक मुनाफा हुने क्षेत्र हो । निर्जीवन प्रकृतिको वैदेशिक रोजगार म्यादी बीमा जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । बीमा शुल्क फिर्ता गर्नु नपर्ने र जोखिममात्रै वहन गर्ने भएकोले यसलाई आकर्षक आम्दानीको रुपमा हेरिदै आएको छ । बीमा प्राधिकरणले घुस सेटिङमा लाइसेन्स वितरण गरेको लघु बीमा कम्पनीहरुले अपेक्षित व्यवसाय गर्न नसकेपछि अध्यक्ष सुर्यप्रसाद सिलवाल जसरी पनि उनीहरुलाई आकर्षक मानिएको म्यादी बीमाको हिस्सा दिन मरिमेटेर लागि परेका छन् ।
यही बीचमा अर्को विवाद उब्जिएको छ । म्यादी बीमाको पुल म्यानेजर कसले पाउने भन्ने ? मुख्य कारण भनेको वैदेशिक रोजगारीको बीमा ‘पुल’मा बीमा गराउँदा कसलाई प्रबन्धक बनाउने भन्ने विषय अहिले विवादको बिषय भनेको छ । यसअघि पनि चार जीवन बीमा कम्पनीहरुको असन्तृष्टीको कारण बन्द गराएको म्यादी बीमामा पुन विवाद देखिएको हो ।
म्यादी बीमाको लागि पुलमा जानलाई सबै जीवन बीमा कम्पनीहरु तयार देखिए पनि कसरी जाने भन्ने बिषयमा अझै जुटन नसकेको एक बीमा कम्पनीका सिईओले बताए । जीवन बीमक संघमा बिशेषत कुन बीमा कम्पनीलाई प्रबन्धक अर्थात् सेटलमेन्ट कम्पनीको जिम्मेवारी दिने भन्ने विषयमा सहमती जुट्न नसकेको हो । कारण सबै बीमा कम्पनीलाई २ प्रतिशतको लोभको कारण तत्काल निर्णय गर्न नसकिएको एक जीवन बीमा कम्पनीका सिईओले बताएका छन् ।
जुन बीमा कम्पनीको प्रबन्धक बन्छ । ती कम्पनीले अन्य कम्पनीभन्दा २ प्रतिशत बढी बीमाशुल्क लिन पाउने प्रावधान रहेको छ । सो कारण पनि जीवन बीमा कम्पनीहरुमध्ये कसले २ प्रतिशत बढी लिने भन्ने विवाद भित्रै देखिएको छ ।
म्यादी बीमा वापत आएको प्रिमियम कसरी बाँडफाँड गर्ने भन्ने विषयमा कम्पनीहरुबीच सहमती भईसकेको छ । तर प्रबन्धक को राख्ने भन्ने विषयमा भने अझै विवाद नै देखिएको छ ।
प्रबन्धक बन्दा अरु कम्पनीले भन्दा दुई प्रतिशत बढी प्रिमियम पाइने भएपछि यतिखेर तीन ठूला जीवन बीमा कम्पनी बीच प्रतिस्पर्धा रहेको छ । जसका लागि बीमा प्राधिकरणले यो विवाद रोक्न दुई कम्पनीसम्मलाई म्यानेजर बनाउन समेत आग्रह गरेको छ ।
यसअघि पनि दुई प्रतिशत कमिशनको लागि चार वटा अलग अलग जीवन बीमा कम्पनी बीच तिव्र असन्तुष्टि बढेपछि पुल बाहिर रहेका कम्पनीको लबिङमा २०७५ माघ १ गतेदेखि शुरु गरिएको पुलको व्यवस्था २०७९ साउन १ गतेदेखि पुलमा जाने विषय बन्द गराइएको थियो ।
जीवन बीमक संघ भित्रको विवाद यत्रतत्र छर्न थालिएको र यसले समस्या निम्त्याउन सक्ने भएपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष नै यस समस्याको समाधानको हल खोज्नतर्फ लागेको देखिन्छन् ।
प्राधिकरणले पुलमा जान सकिने गरि कार्यविधि तयार समेत पारिदिएको छ । बीमा प्राधिकरणले कार्यविधि नै तयार पारिसकेको कारण बीमक संघलाई थप सहज हुने प्राधिकरणको भनाई छ । कार्यविधि तयार गरिसकेपछि प्राधिकरणले निर्देशन समेत दिईसकेकोे छ ।
यति गर्दा पनि जीवन बीमक संघले निर्णय गर्न नसके प्राधिकरणले नै केही पहल गर्ने उनीहरुको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: