
स्याङ्जा भाद्र ९, वालिङ नगरपालिकाको बजेटमा वडा अध्यक्षको हस्तक्षेपका कारण नगर गौरवका अधुरा योजना अलपत्र, जनप्रतिनिधिको कार्यशैली प्रति नागरिकमा चरम असन्तुष्टी व्यक्त गरेका छन् ।
जनप्रतिनिधीहरुकै कारण आन्तरिक विवाद भई वालिङ नगरपालिकाले १६ औं नगरसभा सम्पन्न गरेको २ महिनासम्म पनि चालु आर्थिक वर्षको योजना सार्वजानिक गर्न सकेको छैन ।
नगरपालिकाको गत असारमा आर्थिक वर्ष २०८१÷०८२ का लागि वजेट विनियोजन गरेपनि जनप्रतिनिधिको एक आपसको द्वन्द्वका कारण योजना सार्वजानिक हुन नसकेको हो ।
स्थानीय तहको वजेट निर्माण उप–प्रमुखले गर्ने कानुनी प्रावधान रहेको छ । वालिङ नगरपालिकामा उप–प्रमुखले वजेट तथा योजना प्रस्ताव गरेको कार्यपालिकाले स्वीकार नगरेपछि विवाद सिर्जना भएको थियो । त्यसपछि उप–प्रमुखको अधिकारमाथी वडा अध्यक्षहरुले हस्तक्षेप गरी नगर प्रमुख र वडा अध्यक्षहरुले योजना निर्माण गरेका हुन । यो प्रक्रियामा उप–प्रमुखको सहभागिता रहेको छैन् । उप–प्रमुखले प्रस्ताव गरेको वजेट भन्दा फरक वजेट निर्माण गर्दा नगरस्तरीय अधुरा योजनामा रकम विनियोजन गर्न सकेको छैन ।
यस अधि नगरसभाबाट प्रत्येक वडालाई ५० लाख र १४ नं वडालाई ६० लाख वडास्तरीय वजेट तोकिएकोमा पुनः वडा अध्यक्षहरुले २० लाख र कार्यपालिका सदस्यहरुले ५ लाख गरी योजना बाँडफाँड गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ । नगरपालिकाको रणनैतिक कार्ययोजना, अल्पकालिन र दीर्घकालिन योजना अलपत्र परेका छन् । यसरी नगरपालिकाको वजेटमा वडा अध्यक्षको प्रत्यक्ष हस्तक्षेपको नागरिकले विरोध जनाउन थालेका छन् ।
नगरपालिका स्थापनाको पहिले २०५२ सालमा नामाकरण गरिएको रिङरोड, मिर्दी, भिमटारी, विपिचोक हुँदै डुम्रिकोट सडक २ वर्षदेखि अलपत्र पारेर निर्माण रोकिएको र यस वर्ष पनि वजेटले सम्वोधन नगरेपछि नागरिकहरु आन्दोलित भएका छन् ।
चालु आर्थिक वर्षको वजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको वृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । वालिङ नगरपालिकाको राजधानीको रुपमा रहेको ८ नम्बर वडाका नागरिकहरुले वडा अध्यक्ष र नगर प्रमुखलाई एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र बुझाएका छन् ।
वालिङको वैकल्पिक सडकको रुपमा प्रयोग हुने उक्त सडक निर्माणमा नगरपालिका उदासिन बनेकोले नगरपालिका र वडा कार्यालयका विरुद्ध संघर्षका कार्यक्रम सार्वजानिक गरी आन्दोलन गर्न वाध्य भएको संघर्ष समितिका संयोजक हुमनाथ अर्यालले जानकारी दिए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ—गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँ–गाउँमा पुगेका सिंहदरबारहरु भष्ट्रचारमा लिप्त हुन थालेको ज्ञापनपत्र मार्फत आरोप लगाईएको छ ।
स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिएका छौं । ज्ञापनपत्रमा भनिएको छ, ‘नागरिकको आवश्यकता भन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्राथमिकतामा दिन थालिएको महशुस गरिएको छ ।’ जसले गर्दा नगरपालिकाको गौरवका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीको तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नगरपालिकाको १६ औं नगरसभाबाट सार्वजनिक भएको वजेटमा उक्त सडक बनाउने प्रतिवद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालय सहित नगरपालिकामा समेत तालावन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् । तालावन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्ने समेत वडावासीले चेतावनी दिएका छन् ।
वडावासीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सीमित साधनस्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिवद्धता समेत व्यक्त गरे । वालिङ नगरपालिकाले ३ ओटा सडकलाई प्राथमिकतामा राखेको छ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खाँणले भने, ‘प्रथामिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने योजनामा छौं ।’ जनप्रतिनिधिलाई झक्झक्याउने काम गरेकोमा वडावासी धन्यवादको पात्र हुनुभएको छ उनले भने ।
वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर तिवारीले वडावासीको माग प्रति आफु गम्भीर रहेको बताए । नगरपालिकामा प्रयाप्त वजेट नहुँदा सडक बनाउन ढिलाई भएको तिवारीको भनाई छ । वडावासीले दिएको सुझावलाई आफुले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जनप्रतिनिधिहरुको विवादका कारण अहिलेसम्म पनि वजेट पारित नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: