डा. देवी नेपाल
वर्तमानको नेपाली कवितामा परम्परागत लेखनभित्रै पनि नयाँ कुरा, नयाँ शैली र स्वादको वर्षा हुन थालेको देखिन्छ । भावगत विविधता, शैलीगत विविधता, उद्देश्यगत विविधता र लेखकीय दायित्वगत विविधता अहिलेका कविताका विशेषताहरू हुन् । जुन विधाको जति धेरै विकास हुन्छ त्यसले त्यति नै धेरै नवीनताको खोजी गर्न थाल्दछ । अहिलेको नेपाली साहित्यको बजारलाई हेर्दा नयाँ पुस्तालाई स्थापनाको चिन्ता देखिन्छ भने स्थापित तथा परिपक्व पुस्तालाई कविताको केही गहिराइसम्म पुगेर आफ्नो छुट्टै पहिचान स्थापना गर्न पाए हुन्थ्यो भन्ने चिन्ताले सताएको देखिन्छ । नेपाली कवितालाई आफ्नो छुटै मिठासका साथ प्रस्तुत गर्नुहुने कवि कलानिधि दाहालद्वारा लिखित ’खाली खाली भएँ छु म’ कवितासङ्ग्रह शास्त्रीय छन्दपरम्पराकै तर अलि फरक स्वाद बोकेको कृति हो । यस कृतिमा अनुष्टुप छन्दको प्रवाहशील अभिव्यक्तिमा ब्रह्माण्डको चित्र खिच्ने काम भएको छ ।
हुँदाहुँदै पनि यसभित्र प्राचीन गौरव र वर्तमान यथार्थसँग जोडिएको समग्र नेपाली भूगोल, समाज, मानवीय चरित्र हुँदै सिर्जनाका समग्र पाटाहरूमाथि विश्लेषणात्मक दृष्टिकोण राखिएको छ र सिङ्गो हिमवत्खण्डको महिमा र गरिमासँग नेपाली गौरवलाई जोडेर कविकर्तव्यका साथै सम्पूर्ण मानवीय दायित्वप्रति दिशानिर्देश गरिएको छ । यसलाई छुट्टै कृतिका रूपमा प्रकाशन गरेको भए नेपाली काव्यजगत्मा यसको एउटा विशिष्ट उपस्थिति देखिने थियो, सङ्ग्रहमा समेट्दा यसको वैशिष्ट्य छायामा पर्ने हो कि भन्ने आशङ्का चाहिँ अवश्य भएको छ ।
यसरी नै प्रस्तुत सङ्ग्रहमा ’म र मेरो सिर्जना’ शीर्षकको अर्को खण्डकाव्यात्मक रचना समाविष्ट छ । अनुष्टुप् छन्दका चतुष्पदी २६० श्लोकमा संरचित यस रचनालाई पनि खण्डकाव्य भन्न सकिने आधारहरू प्रशस्त छन् । यसमा पनि आख्यान, पात्र, परिवेश आदिको बाह्य उपस्थिति देखिँदैन तापनि चिन्तनको गहिराइ र विषयवस्तुको तार्किक विस्तारले गर्दा यो रचना पनि खण्डकाव्य नै बन्न पुगेको छ । यसको भावगत व्यवस्थापन पनि व्यञ्जनाकै तहबाट गरिएको छ । आफ्ना सिर्जनाको आफैँ मूल्याङ्कन गरेजस्तो गरेर सिर्जनामा हुनुपर्ने गुणहरूको अपेक्षा यस रचनाको भावात्मक अभीष्ट हो । यसले हरेक कविता वा सिर्जनाभित्रका धनात्मक र ऋणात्मक दुवै पक्षको समीक्षा प्रस्तुत गरेको छ । यहाँ एकातिर चराजस्तै स्वतन्त्र उडान र चिर्बिर गानको अपेक्षाबाट स्वच्छन्दतावादी लेखनप्रतिको कविमोह अभिव्यक्त भएको छ भने अर्कातिर सिङ्गो ब्रह्माण्डको विषयात्मक संयोजन र लेखकीय दायित्वप्रतिको स्पष्ट दृष्टिकोणको स्थापना पनि गरिएको छ । यसले युगानुकूल सिर्जना कस्तो हुनुपर्छ र एउटा स्रष्टाको युगीन दायित्व के हो ? भन्ने विचारलाई ध्वन्यात्मक रूपमा स्थापना गरिदिएको छ । कवित्वको निरवच्छिन्न प्रवाहबाट सिर्जना भएको प्रस्तुत खण्डकाव्यात्मक रचना स्वच्छन्दतावादी काव्य परम्पराको एउटा विशिष्ट उपलब्धिका रूपमा देखापरेको छ तापनि छुट्टै कृतिका रूपमा प्रकाशन नभएर सङ्ग्रहभित्रै समेटिंदा यसको गरिमामा पनि कमी आउने हो कि भन्ने आशङ्का चाहिँ यस कृतिका सम्बन्धमा पनि जीवित नै रहेको छ । यसमा प्रस्तुत कवित्व प्रवाहको एउटा झलक निम्नलिखित पद्यमा फेला पर्दछ ।
सिर्जनारसले छम्कुन् निर्झरीले सरी मन
पखा फन्फनले हम्कुन् बनुन् पवित्र धड्कन ! हावामा नझरी थोपा कर्कलासरि हुन् मन
मनमै सब संसार सङ्गीतका सबै धुन !
यसरी नै संरचनात्मक रूपमा फुटकर कविताभन्दा केही लामा रचनाहरू यस सङ्ग्रहमा अरू पनि पाइन्छन् । यसको कारण कविको व्यवधानरहित उडान नै हो । यहाँका अन्य कविताहरूलाई हेर्दा भावगत विविधताको अत्यधिक प्रयोग यस कृतिमा भएको पाइन्छ । यस सङ्ग्रहभित्रका कवितामा कविले पूर्वीय जगत्का पौराणिक मिथकहरूको अत्यधिक प्रयोग गर्नुभएको छ । यसका साथै पाश्चात्य जगत्का लोकमिथकहरू, प्रसिद्ध व्यक्तिहरू र प्रचलित स्थानहरूको पनि प्रतीकात्मक प्रयोग यहाँका कवितामा प्रशस्त भएको देखिन्छ । प्राकृतिक, सांस्कृतिक, लोकजीवमूलक उपमान र उपमेयहरूको अद्भुत प्रयोगबाट उपमा, उत्प्रेक्षा, रूपक, दृष्यन्त आदिजस्ता अर्थालङ्कारहरूको निर्माणमा अनुपम सफलता हासिल गर्नु नै यहाँका कविताहरूको सर्वोच्च प्राप्ति हो । यसका साथै कवि यहाँ कतै सहिदप्रतिको सम्मान भाव व्यक्त गर्नहुन्छ, कतै कविको दायित्वमाथि प्रश्नचिह्न खडा गर्नुहुन्छ, कतै निराशावादी लेखनप्रति तीव्र विमति राख्नुहुन्छ, कतै आफैँसँग सङ्घर्ष र आफैँसँग प्रतिस्पर्धा गर्ने अठोट गर्नुहुन्छ, कतै भानु, लेखनाथ, मोतीराम, माधव घिमिरे आदिप्रति श्रद्धाभाव व्यक्त गरी पूर्वजहरूप्रतिको सम्मान प्रकट गर्नुहुन्छ, कतै बुढ्यौलीप्रति नवीन चिन्तनहरू प्रस्तुत गर्नुहुन्छ, ड्ड कतै धर्म र सृष्टिसम्बन्धमा तर्कपूर्ण विश्लेषण प्रस्तुत गरी आफ्नो अभिमत राख्नुहुन्छ, कतै वर्ष, महिना र ऋतुचक्रको चिन्तनपरक चर्चा गर्नुहुन्छ भने कतै चाहिँ मान्छे, जीवन, यात्रा, मन, चरित्र, व्यवहार आदिप्रतिको आत्मचिन्तनसहितको वैचारिक अवधारणा प्रस्तुत गर्नुहुन्छ। यसका आधारमा हेर्दा कविको विषयवस्तुको छनोट चेतनप्रवाह शैलीमा भएको देखिन्छ । उहाँको लेखनमा पूर्वनिर्धारित विषयले भन्दा तत्काल सिर्जना भएका विषयले बढी प्रवेश पाएका छन् । स्वच्छन्दतावादी लेखनको एउटा विशिष्ट चिनारी भनेकै कल्पनावेगले स्पर्श गरेका हरेक विषयलाई कविताको स्वरूप प्रदान गर्नु हो । यस कुरामा कवि दाहालले अनुपम सफलता हासिल गर्नुभएको छ ।
यस सङ्ग्रहमा कवि दाहाल मूलतः नैतिक मूल्यका कविका रूपमा देखापर्नुभएको छ । उहाँले समाजका हरेक क्षेत्रलाई नैतिक आदर्शको विम्बका रूपमा उभ्याउने सङ्कल्प गरेर कविता लेखनमा प्रवेश गरेको अनुभूति यहाँका हरेक कविताले गराएका छन् । त्यसमा पनि सर्वप्रथम समाज सचेत कवि स्वयं एउटा आदर्श बन्नुपर्ने र नैतिक चेतनाको संवाहक बनेर समाजमा उभिनुपर्ने मान्यताको स्थापना कविले यहाँ विभिन्न ठाउँमा गर्नुभएको छ । मानवीय अहङ्कार, उद्दण्डता र उन्मत्त चरित्रप्रति खबरदारी गरी नैतिक मूल्यको स्थापना गर्ने क्रममा उहाँ निकै खरो रूपमा प्रस्तुत हुनुभएको छ । यसका लागि कविता सिर्जनामा कविको उद्देश्य र लेखनको अभीष्ट के हुनुपर्छ ? भन्ने कुरालाई उहाँले यसरी स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ–
निरङ्कुश सबै तोड्न प्रजाका मुटु जोड्न ए !
समर्पित भई यात्रा अगाडि बढ्न बढ्न ए !
सधैँ उत्साहका ज्योति बाली बल्न निरन्तर
अर्काकै निम्ति बाँच्ने ए, हौ कवि ! जनका शिर !!
(कवि हौ कविका शिर !!)
यसको आशय कोरा भावुकताको प्रदर्शन मात्र कविको अभीष्ट बन्नु हुँदैन र निराशा, कुण्ठा, दिग्दारी र पलायनको भावनाले कविलाई समाजसँग जोड्न सक्दैन भन्ने नै हो । यसरी नै जीवनप्रतिको दार्शनिक दृष्टिकोणको स्थापना कवि यसरी गर्नुहुन्छ–
अव्याप्ति व्याप्ति आफैँमा अन्ताअन्त अनन्तको
उत्साह साह आफैँमा आफैँ अन्त अनन्तको !
उकाला अनि ओराला तेर्सा ढिस्का अनन्तका
अडिने दौडने आफैँ बस्ने उठ्ने अनन्तका !!
(जीवन)
यसका साथै ’कोरोना’ शीर्षकको कवितामा कविले कोरानाका माध्यमबाट राजनीतिक रूपमा विश्वप्रसिद्ध साम्यवादी सिद्धान्तको स्वाभाविक चिनारी प्रस्तुत गर्नुभएको छ। राजनीतिले साम्यवादलाई ड्ड अँगाल्न नसके पनि कोराना जस्ता महामारीले बेला बेलामा राजनीतिक दर्शनको पनि स्मरण गराउने गरेको विषयलाई कविले यहाँ व्यङ्ग्यात्मक शैलीमा यसरी प्रस्तुत गर्नुभएको छ–
दरबार भयो बन्द भो उस्तै घरबार यो गिट्टी कुट्ने भए उस्तै जस्तो राष्ट्रपति छ यो ! भिखारी भिखमा उस्तै प्रधानमन्त्री रोगिए साम्यवाद लिई आए कोरोनाका मिजासले !!
(कोरोना)
यसरी नै कविले ठाउँ ठाउँमा धनको मूल्यहीनतासम्बन्धी ऋषिवाणीहरू प्रस्तुत गर्नुभएको छ । जहाँ धनले प्राथमिकता पाउने गर्छ त्यहाँ राष्ट्रभक्ति, मानवता, नैतिकता आदिजस्ता सबै कुराहरू छायामा पर्छन्, त्यसैले राष्ट्रभक्ति नै सर्वोच्च चिन्तन हो, त्यससँग धनको वा अन्य कुनै पनि कुराको तुलना हुन सक्दैन भन्ने भावलाई कविले यसरी प्रस्तुत गर्नुभएको छ– भोक लागे टिपूँ चारो मृत्तिका कुखुरा बनी
आङ नाङ्गै भए ओढूँ नाचुन् पत्कर छम्छमी ! आङ तातो तिनै बज्दा दिल यो हुन्छ हो, हरा स्वर्ग यस्तो हुँदै हुन्न भए पुग्छ यही धरा !!
(भए पुग्छ यही धरा)
यसरी नै ’मलाई स्वर्ग चाहिन्न !’ शीर्षकको अर्को कवितामा पनि यही भावले निरन्तरता पाएको छ । साथै उहाँका हरेक कवितामा कुनै न कुनै प्रकारको एउटा चिन्तनले प्राथमिकता पाएको देखिन्छ । उहाँले गोरी कि काली ठिक भन्दै कलाको सौन्दर्यमाथि नै प्रश्न उठाउनुभएको छ । यसले रङ्गभेदी समाजको दृष्टिदोणमाथि विमति राखेको स्पष्ट थाहा पाइन्छ । कवि कलानिधिका अधिकांश कविताहरू उपदेशात्मक प्रकृतिका देखिन्छन् । उहाँका कवितामा गर, बुझ, राख, भन आदिजस्ता आज्ञार्थक क्रियापदहरूको प्रयोगले आदेशात्मक भाव सिर्जना भएको देखिन्छ । यसका साथै तिमी जस्ता द्वितीय पुरुषात्मक सम्बोधनबाट आत्मानुभूतिको प्रकटीकरण गरिएको छ । त्यसैले तुलनात्मक रूपमा हेर्दा ’म’को अभिव्यक्ति भएका कवितामा
जुन प्रकृतिको कोमलता, शिष्टता, शालीनता र ध्वन्यात्मकता पाइन्छ, ’तिमी’ सम्बोधन गरिएका कवितामा त्यस प्रकृतिको कवितात्मक उच्चता पाइँदैन । त्यसभित्र कता कता कविदम्भको आभास भेटिन्छ र वक्ताले आफूलाई माथि र अरूलाई तल देखेको हो कि भन्ने सन्देहको जन्म हुन्छ । यस अर्थमा निःसङ्कोच रूपमा आत्मबोधका माध्यमबाट गराउन खोजिएको ब्रह्माण्डबोध नै यस सङ्ग्रहका कविताको सर्वोच्च उपलब्धि हो भन्न सकिन्छ ।
कवि कलानिधि दाहालको छन्दसाधना र चिन्तनको गहिराइका विषयमा कुनै प्रश्न उठाउने ठाउँ नै छैन । साढे छ दशकको जीवन यात्रा पूरा गरिसक्दा पनि उहाँको जोस, जाँगर, साधना, सङ्कल्प, समर्पण र सिर्जनात्मक सक्रियता अनुपम लाग्दछ । उहाँको अनौपचारिक जीवनशैली र औपचारिक लेखन अद्वितीय लाग्दछ । उहाँको जीवनदृष्टि, समाजदृष्टि र विश्वदृष्टि निकै तिखो प्रकृतिको छ । कल्पना र भावुकताले भन्दा तर्क, प्रमाण, उदाहरण वा दृष्टान्तले कवितालाई शक्तिशाली बनाउने कलामा कलानिधिसँग कसैको प्रतिस्पर्धा हुन सक्छ जस्तो लाग्दैन । यति हुँदाहुँदै पनि ’खाली खाली रहेछु म’ कविता तथा काव्यसङ्ग्रहभित्रका कवितालाई मात्र अगाडि राखेर उहाँको कवित्वको मूल्याङ्कन गर्ने हो भने विषयगत व्यवस्थापन, भावगत गहिराइ, कथ्यगत अभिव्यञ्जना, ज्ञानको उदात्तता, सूचनाको व्यापकता र दर्शनको स्थापना कलानिधिको कवित्वका धनात्मक पक्ष हुन् भने स्वच्छन्द भाषिक प्रयोग र छन्दानुशासनको अतिक्रमण उहाँका ऋणात्मक पक्ष हुन् । यदि यिनलाई स्वच्छन्दतावादी लेखनका विशेषता हुन् भनेर छुट नदिने हो भने कवितामा प्रयुक्त शब्दविन्यास, पदावलीविन्यास, वाक्यविन्यास र अनुष्टुप् छन्द प्रयोगमा देखिने अनेक रूपतामा भने पाठकले प्रश्न उठाउने ठाउँहरू कविले राखिदिनुभएको छ । यो पनि उहाँको कविता सिर्जनाको एउटा छुट्टै विशेषता हो भन्न सकिन्छ ।
यसरी कवि कलानिधि दाहालको ’खाली खाली भएँ छु म’ कविता तथा काव्यसङ्ग्रहका रचनाहरूभित्रै पसेर दोष नै खोज्न थाल्ने हो भने बाह्य स्वरूप वा रूप पक्षमा केही कसरमसरहरू फेला पार्न सकिएला तर आन्तरिक पक्ष वा अन्तर्वस्तुका तहमा भने कवित्वको सर्वोच्च स्वरूप नै फेला पर्दछ । त्यसैले यो कृति कवित्व प्रवाह र भावगत अभिव्यञ्जनाका दृष्टिले नेपाली कविता परम्परामा नै एउटा विशिष्ट प्राप्ति बनेर आएको छ । यति हुँदाहुँदै पनि सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् । त्यसैले कवि दाहालको साधनाको यात्रा अविरल रहनुपर्छ अनि भावगत पुनरावृत्ति र छन्दविधानगत दोषबाट कवितालाई बचाउँदै आदर्श सिर्जनामा आफूलाई समर्पित गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्त्यमा ’म’ पात्र नै राखेर प्रस्तुत गरिएको वैयक्तिक अनुभूतिलाई दार्शनिक तहबाट साधारणीकरण गरेर नेपाली पाठकलाई यति सुन्दर कृति प्रदान गर्नुहुने कवि कलानिधि दाहालज्यूलाई सहर्ष बधाई ज्ञापन गर्दै र अझै सुन्दर, अझै सशक्त, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु ।
रचना ः मुक्तनाथ साहित्य समाजद्धारा साउन २६ गते ‘खालीखाली भएछु म’ कृतिबाट डा.देवी नेपालद्धारा समीक्षात्मक टिप्पणीबाट साभार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: