कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया

२०८१ श्रावण २५

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले गरीबी न्यूनीकरणका कार्यक्रमलाई बीमासँग आवद्ध गरेर अघि बढाउन र बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
उहाँले बीमितले बीमा कम्पनीहरूबाट समयमैं दाबी भुक्तानी पाउने सुनिश्चित गर्नका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताउनुभयो ।
बीमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।
अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा बीमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्नुहुँदै कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयका साथै बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मन्त्री तथा राज्यमन्त्री, प्रदेश मन्त्रालयका सचिव, सहसचिव लगायत कर्मचारी, विभिन्न निकायका प्रतिनिधि, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालयका प्रमृखहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गर्नुभएको थियो ।

विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताउनुभयो ।
प्रमुख कोइरालाले अन्तर्राष्ट्रियस्तरमा विकसित बीमा सम्बन्धी नवीनतम् प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताउनुभयो ।
अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्याउने बजेटबाट गरीव तथा न्यून आय भएका बर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमामार्फत लक्षित बर्गलाई दीर्घकालिन रुपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताउनुभयो ।
अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्नुहुँदै त्यसबाट नागरिकहरुलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारवाही, बीमाको महत्व, बीमा गर्ने विधि, दावी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भुमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरुलाई मर्का परेको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: