माओवादी विरुद्ध बनेको मोर्चावन्दी सह्य हुँदैन ः नेत्रविक्रम चन्द

२०८१ श्रावण ४

काठमाडौं असार २५, विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको काँग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एकभएर मुकाविला गर्ने नेताहरुले उद्घोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगाएतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै संघर्षमा पनि जाने नेताहरुले चतावनीसमेत दिएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैठौं स्मृति दिवस’ कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तैः हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल शुरु भएको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडि बढेको बताउँदै भने,“जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजवुद बनाएर लड्ने हो ।” लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुनबाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताउँदै भने,“अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरुले २०४७ तिर फार्काउने कुचेस्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनाउने मुख्य दोषी संसदिय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भाषमा फसेको कराण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै भने,“यो व्यवस्थामा प्रचण्ड, केपी या देउबा जो आएपनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौंं ।” भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्धाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । भण्डारीले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता योद्धा छानविन समितिलाई अलपत्र पारेर शान्तिप्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउन चुक्नु दूर्भाग्य भएको बताए । “अब निरकुमार राई तथा हजारौं सहिद तथा वेपत्ताहरुको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आउनुको विकल्प छैन ।” भण्डारीले बताए ।
सो पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकालले सहिद निरकुमार राईले देखेको सपना र परिवर्तनको सोँचलाई हरेक क्रान्तिकारीहरुले आत्मसाथ गर्नु पर्ने धारणा राख्दै भने,“कमरेड निरकुमार सहिद हुन तयार हुनुभयो तर तानाशही सत्ता सामु झुक्नु भएन, जो हाम्रो आदर्श हो ।
जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले देश संसदीय व्यवस्थाको दलदलले क्रान्तिकारीहरुलाई जकड्याएको अवस्थामा सबैले त्यसबाट निस्कने प्रयास गर्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रममा राजनीतिक विश्लेशक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद कुमार पौडेलकी दिदी, सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकालले गरेका थिए भने सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीले गरेका थिए ।
नेकपाका तत्कालिन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राइको २०७६ असार ६ गते तत्कालिन केपी ओली सरकारले हत्या गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: