प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साँढे दुई करोड जोगियो

२०८१ असार १९

काठमाडौं असार १९, बीमाबाट रकम क्षतिपूर्ति लिन मानिसकै हत्या गर्ने मात्रै होइन, आफ्नै पसल समेत चोरी हुन थालेको छ । पछिल्लो समय बीमा दावी भुक्तानीका लागि बीमा कम्पनीहरुले सम्भावित अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएको छ । तर, त्यसैका लागि बीमितलाई दिइने दावी भुक्तानीमा भने ढिलाई गर्न पाइदैन ।
पछिल्लो समय चितवनमा घटेको एउटा घटनाले निर्जिवन बीमा क्षेत्रमा पनि अपराध बढ्न थालेको देखाएको छ । चितवनको कालिकानगर ६ खोलेसिमलमा रहेको विनोद सुनचाँदी पसलमा भएको लुटपाटको घटनाले बीमा दावी भुक्तानी सम्बन्धी घटनामा अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएकोछ । सिङ्गो बीमा क्षेत्रलाई झस्काउने उक्त घटना बीमा कम्पनीकै शाखा कार्यालयको भुई तल्लामा रचना गरिएको थियो ।
चिवतनको खोले सिमलमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहेको छ । सो क्षेत्रको व्यवसाय प्रायः सबै सोही शाखा मार्फत हुने गर्दछ । सोही शाखा कार्यालयको तल तीन वटा सटरमा विनोद सुनचाँदी पसल सञ्चालित छ । केही पर कुमारी बैंक पनि छ । विनोद विश्वकर्माले गत मंसिरमा कुमारी बैंकबाट ऋण लिए । सो क्रममा उनको पसल तथा घरको बीमा गर्नुपर्ने भयो । उनले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा बीमा गरे । जसमा साढे दुई करोड रुपैयाँको स्टक (सुन चाँदी) तथा साढे दुई करोडको भवनको बीमा गरे ।
दुई फरक फरक पोलिसी लिएका विश्वकर्माले गत जेठमा खोलेसिमलस्थित शाखा कार्यालयमा गएर आफ्नो बीमा पोलिसी मागेर लिएका थिए । बीमा पोलिसी किन मागे भनेर सोध्ने कुरा पनि भएन । कुरा सकियो । गत असार १ गते आफ्नै शाखा कार्यालयको तल रहेको सुन पसल लुटिएको समाचार आयो । बीमा कम्पनीकै एक कर्मचारीले राति १०ः३० बजेतिर विनोद विश्वकर्मालाई टेलिफोन गरी पसल लुटिएकोबारे सोधेका थिए । उतिबेला विनोद विश्वकर्माले लुटपाट भएको हो मात्रै भनेर फोन राखिदिए । भोलिपल्ट घटनास्थलमा प्रहरी आयो । वरपरको सिसीसिसी टिभी फुटेज समेत संकलन गरेर हेर्दा घटनामा चोरी भएकै देखियो । शंकास्पद त थियो । तर, शंका गर्ने ठाउँ भने थिएन । भोलिपल्टै बीमा कम्पनीका सर्भेयर पनि घटनास्थलमा के भएको रहेछ भनेर बुझ्न पुगे । सर्भेयरले पनि सिसीटिभी फुटेज हेर्दा चोर भएको होइन भन्न सकेनन् । बीमा कम्पनीमा विनोद विश्वकर्माले दावी भुक्तानीको लागि आवेदन दिए । कम्पनीले उनलाई प्रहरीले प्रतिवेदनदेखि आवश्यक कागजात पेश गर्नु भन्यो ।
प्रहरीले बीमा दावी पर्ने भन्ने बुझेपछि ‘त्यतिकै किन दिने भनेर हामीले थप अध्ययन शुरु ग¥यौं, करोडौंको कुरा छ, नियोजित रहेछ भने पब्लिक कम्पनीको करोडौं रुपैयाँ गुम्छ, अलि विस्तृतमा हेरौं भन्ने निर्णय भयो, चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिमालले भने । ‘चोरी गर्ने क्रममा खसालेको ७७६.८० ग्राम सुन हामीले बरामद गरिसकेका थियौं । बाँकी सुन कहाँ छ भनेर हामीले विस्तृतमा हे¥यौं । शुरुमा कामदार पक्राउ गरेर शुरु गरिएको अनुसन्धानमा केही प्रश्नहरु त थिए तर एकिन भइसकेको थिएन ।
यही असार १७, गते पसलका सञ्चालक र मुख्य योजनाका विनोद विश्वकर्मालाई पक्राउ गरेर वयान लिएपछि थप कुरा खुल्यो । बीमाको रकम लिन यसरी चोरीको घटना रचिएको र चोरी गर्ने जिम्मेवारी पाएका पवन कुमार पासवानलाई ५० हजार रुपैयाँ दिएर भाडाको चोर प्रयोग गरिएको समेत खुल्यो । त्यस्तै, विनोद विश्वकर्मा आफैले पसलमा बसेर चोरी गर्न आएका चोरहरुलाई सहयोग गर्दै गहना दिएर पठाएको खुलेको छ । चोरीमा संलग्न पवन पासवानले विनोदले भने बमोजिम अञ्जना पुडासैनीको घरमा पु¥याई गहना लुकाएको र त्यसको दुई दिनपछि फेरि विनोद विश्वकर्माले नै लिएर गएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार उनले मंसीरमा बीमा गरेका थिए । गत जेठ महिनामा विनोदले बीमा पोलिसीबारे सोधखोज गरेका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अनुसार असारमा १ गते चोरी भएको भन्दै बीमा कम्पनीमा बीमा दावी परेको थियो ।
अभियुक्तहरुमाथि हाल प्रहरीले अनुसन्धानको सिलसिलामा छ । दिनको म्याद लिई विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विनोद विश्वकर्माले कुमारी बैंकबाट ऋण लिँदा उक्त सुन पसलको चोरी र स्टकको जोखिम बहन हुने गरी साढे दुई करोड रुपैयाँको बीमा पोलिसी काटेका थिए । सो बापत उनले करिब एक लाख रुपैयाँ बीमा शुल्क बुझाएका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पहिलो पटक विनोद विश्वकर्माको बीमा गरेको थियो । बीमा दावी परेपछि कम्पनीले दावी भुक्तानी र अनुसन्धान एकसाथ अघि बढाइरहेको थियो । त्यही बीचमा प्रहरी अनुसन्धान निष्कर्षमा पुग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र पुनर्बीमा कम्पनीहरुको साढे दुई करोड रुपैयाँ जोगिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: